जन सरोकार

अनलाइन टेलिभिजनमा अत्यधिक विकृति : आचारसंहिता बनाउने निर्णय

काठमाडौँबाट सञ्चालनमा रहेका अनलाइन टेलिभिजन सञ्चालकले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अनलाइन टेलिभिजनमा विकृति अत्यधिक भएको स्वीकार गर्दै उनीहरुले अहिलेको पत्रकार आचारसंहितामा केही थपघट गरेर आफ्नोतर्फबाट अर्को आचारसंहिता बनाउने निर्णय पनि गरेका छन् ।

अनलाइन टेलिभिजन सञ्चालकको प्रथम भेला तथा विज्ञसँगको अन्तरक्रिया कार्यक्रममार्फत उनीहरुले स्वनियमन गर्ने र सङ्गठित हुने अठोट पनि व्यक्त गरेका हुन् । भेलामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले राज्यको नियन्त्रणभन्दा पनि स्वनियमनको पक्षमा उभिन अनलाइन टेलिभिजन सञ्चालकलाई सुझाव दिनुभयो । उहाँले जिम्मेवार बन्न चाहने अनलाइन टेलिभिजनले आफू ‘जिम्मेवार सञ्चारमाध्यमका रुपमा काम गर्न चाहेको र आचारसंहिता पालना गर्ने’ स्वघोषणा गर्नु उपयुक्त हुने बताउनुभयो ।

महासङ्घका अर्का अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले आफूले प्रस्तुत गरेका सामग्रीप्रति आफ्नो जिम्मेवारीबोध गरेमा यस क्षेत्रका विकृति स्वतः कम हुने धारणा राख्नुभयो । उहाँले जिम्मेवार पत्रकारिताका मर्मलाई ख्याल गरेमा अनलाइन टेलिभिजनको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले अन्य मिडियासरह काम गर्ने प्रतिबद्धता गरेमा त्यही अनुसारको मान्यता दिनुपर्ने विचार राख्नुभयो । अनलाइन पत्रकार सङ्घका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले सङ्गठित भएमा पेशालाई व्यवस्थित गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले सङ्गठित हुनु उपलब्धिमूलक कार्य भएको बताउनुभयो ।

भेलाको अध्यक्षता गर्नुभएका पत्रकार जीवन भण्डारीले सङ्गठित हुन र जिम्मेवार पत्रकारिताको दायरामा आउन आवश्यक सबै कार्य गर्दै जाने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार भेलाले २५ सदस्यीय तदर्थ समिति, आचारसंहिता तथा स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ । सबै समितिका लागि जिम्मेवारी भने अर्को बैठकबाट तोकिने भएको छ ।

भेलाले अनलाइन टेलिभिजनकर्मीलाई समस्या पर्दा एकजुट भएर सहयोग गर्ने, पेशागत हकहित संरक्षणसँगै पेशागत गुणस्तर वृद्धिका लागि निरन्तर कार्यक्रम गर्ने निर्णय पनि गरेको भेलाका सञ्चालक तथा टिभी अन्नपूर्णका सञ्चालक राजु सुवेदीले जानकारी दिनुभयो । भेलामा ९४ जना अनलाइन टेलिभिजन सञ्चालकहरु सहभागी भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.