जन सरोकार

भूमि आयोगको मान्छे भन्दै सुकुम्वासीलाई ठग्ने दुईजना पक्राउ

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा सुकुम्वासीलाई बोलाएर जग्गा दिलाइदिने भन्दै ठगी गर्ने झापाका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठका ४४ वर्षीय उद्धव भण्डारीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजारको फारम भर्न लगाई रकम लिई ठगी गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ परेका व्यक्तिले आफूहरु भूमि आयोगबाट आएका मान्छे भएको र सुकुम्वासीहरुलाई जग्गा वितरण गर्छौं, फारम भर्नुपर्छ भन्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फारम भर्न लगाई पैसा असुल गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ गरेका व्यक्तिसँग ल्यापटप एकथान, चार्जर एकथान, प्रिन्टर एकथान, मोबाइल दुई थान, स्पिकर एकथान र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फाराम बरामद गरेको छ । पक्राउ परेका व्यक्तिसँग थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.