राजनीति

थापाको नयाँ पार्टीले राजतन्त्र बोक्ला ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताउनुभएको छ । थापाको नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने छ ।

विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उहाँले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।

उहाँले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्ने धारणा राख्नुभयो ।

साथीहरूसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै उहाँले आफूले बोकेको विचारलाई अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिनुभयो ।

स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै नेता थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रूपमा हेर्न चाहेको बताउनुभयो ।

उहाँले एमसिसी आफैँमा आपत्तिजनक नरहेको र यसका विषयमा आएका प्रश्न र आशङ्का विषयमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै आर्थिक सहयोग लिन सकिने एमसिसीबाट कुनै नोक्सानी नहुने धारणा राख्नुभयो । उहाँले यस विषयमा बढीभन्दा बढी राजनीतिक दललाई सहमति गराएर पास गर्नुपर्ने विचार व्यक्त गनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button