जापानबिशेष

जापानमा भीषण गर्मी : ‘हीटस्ट्रोक’ भएपछि १० हजारभन्दा बढी मानिस अस्पताल भर्ना

जापानमा लगातार बढिरहेको भीषण गर्मीले जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ। अत्यधिक तापक्रमका कारण एक सातामै १० हजार ८५७ जना मानिसलाई लु लाग्ने समस्या (हीटस्ट्रोक) भएपछि अस्पताल पुर्‍याइएको छ।

जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जुलाई १३ देखि १९ सम्मको अवधिमा अस्पताल लगिएका बिरामीको संख्या अघिल्लो साताको ४ हजार ५८० जनाको तुलनामा करिब २.४ गुणा बढी हो।

गत वर्षको यही अवधिमा ४ हजार ९५८ जनालाई मात्र अस्पताल पुर्‍याइएको थियो, जसको तुलनामा यस वर्षको संख्या दोब्बरभन्दा बढी पुगेको छ।

सरकारी तथ्यांकअनुसार अस्पताल लगिएकामध्ये ६५ वर्षभन्दा माथिका ६ हजार ७३४ जना रहेका छन्, जुन कुल बिरामीको ६० प्रतिशतभन्दा बढी हो।

यस अवधिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३२१ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई तीन साताभन्दा बढी अस्पतालमा उपचार आवश्यक पर्ने जनाइएको छ।

सबैभन्दा धेरै अर्थात् ४ हजार ५२३ जना आफ्नै घरभित्र लु लागेर बिरामी परेका थिए, जसले घरभित्र पनि अत्यधिक गर्मीको जोखिम बढेको देखाएको छ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार देशका विभिन्न क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सरकारले यस वर्षदेखि नयाँ रूपमा “अत्यन्त भीषण गर्मीको दिन” को वर्गीकरण लागू गरेको छ।

मिए प्रिफेक्चरको कुवानामा ४०.६ डिग्री सेल्सियस, गिफु प्रिफेक्चरको मिनोमा ४०.१ डिग्री सेल्सियस तथा शिजुओका प्रिफेक्चरको हामामात्सुमा पनि ४०.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीले देशका अधिकांश क्षेत्रमा लु लाग्ने जोखिमसम्बन्धी चेतावनी जारी गर्दै अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी र नुनयुक्त झोल पदार्थ सेवन गर्न तथा वातानुकूलित कोठामा बस्न आग्रह गरेको छ।

सरकारले विशेष गरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई अतिरिक्त सावधानी अपनाउन निर्देशन दिएको छ। यसैबीच टोकियोसहित कान्तो–कोशिन र तोकाइ क्षेत्रमा वर्षायाम सकिएसँगै गर्मी झन् चर्किएको छ।

राजधानी टोकियोमा यस वर्ष पहिलो पटक तापक्रम ३५ डिग्री सेल्सियस नाघेको छ भने बिहानै ३० डिग्री सेल्सियस पुगेपछि जनजीवन प्रभावित भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

टोकियो अग्नि विभागका अनुसार मंगलबार मात्रै २६१ जनालाई लु लागेको आशंकामा अस्पताल लगाइएको थियो, जुन सन् २०२२ यता एकै दिनमा सबैभन्दा धेरै हो।

त्यही दिन आपत्कालीन एम्बुलेन्स सेवामा ३ हजार ४५४ वटा फोन आएका थिए, जुन सन् १९६३ देखि अभिलेख राख्न थालिएयताकै उच्च संख्या हो।

विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण जापानमा चरम गर्मीका घटना वर्षेनी तीव्र बन्दै गएको बताएका छन्। गत वर्ष जापानले ४१.८ डिग्री सेल्सियस को आफ्नो इतिहासकै उच्च तापक्रम रेकर्ड गरेको थियो।

लगातार बढ्दो गर्मीका कारण सरकारले वार्षिक रूपमा लु लागेर हुने मृत्यु संख्या एक हजारभन्दा तल झार्ने लक्ष्यसमेत तय गरेको छ। पछिल्ला पाँच वर्षमा जापानमा वार्षिक औसत एक हजार पाँच सयभन्दा बढी मानिसको मृत्यु लु लागेकै कारण हुने गरेको सरकारी तथ्यांकले देखाएको छ।

मौसमविद्हरूले आगामी केही दिनसम्म पनि उच्च चापीय प्रणालीका कारण जापानभर अत्यधिक गर्मी कायम रहने पूर्वानुमान गरेका छन्।

सरकारले नागरिकलाई दिउँसोको समयमा बाहिरी गतिविधि कम गर्न, तिर्खा नलाग्दै नियमित रूपमा पानी पिउन, शरीरमा पानीको मात्रा कायम राख्न तथा वृद्धवृद्धाको स्वास्थ्यमा विशेष ध्यान दिन पुनः आग्रह गरेको छ।

समाचार र तस्वीर स्रोत जापानटाइम्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.