जल/वातावरण

चीनबाट फर्केका नेपाली भन्छन् त्रिभुवन विमानस्थलमा कोरोना परीक्षण झाराटराई मात्र

चीनको वुहानमा फैलिएको कोरोना भाइरसले विश्व त्रस्त भैरहेको छ । हरेक मुलुकले हवाई तथा जलमार्गमा व्यापक सुरक्षा व्यवस्था गरिरहेका भए पनि चीनसंग सीमा जोडिएको नेपालको सुरक्षा व्यवस्था भने निकै फितलो रहेको चीनबाट फर्केका नेपाली विद्यार्थीहरुले गुनासो गरेका छन् ।

शुक्रबार राति चीनको सियामेनबाट फर्केकी एक विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको सुरक्षा जाँच अत्यन्त फितलो रहेको गुनासो गरिन् । सियामेन, गोन्जाओ विमानस्थलको कडा स्वास्थ्य परीक्षणबाट काठमाडौं आएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच देखेर चिन्ता व्यक्त गरेकी छिन् ।

हुन चीनबाट आउने सबैले भाइरस बोकेर आएका हुन्छन् भन्ने हैन तर स्वास्थ्य परीक्षणका सामान्य औपचारिकता मात्र निर्वाह गरेको देख्दा कुनै दिन महामारी फैलिनसक्ने चिन्ता उनको थियो ।

उनको अनुभवमा चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाको संक्रमणा अन्यत्र भने हल्ला गरिएजस्तो डरलाग्दो नभए पनि यो विस्तारै फैलदै गएको र रोकथामको प्रयास पनि व्यापक रुपमा भैरहेको उनी बताउँछिन । गोन्जाओदेखि काठमाडौंसम्मको यात्रामा विमानभित्रै तीनपटक स्वास्थ परीक्षणको अनुभव संगालेकी उनले नेपाल ओर्लेपछिको फितलो व्यवस्थापनको आलोचना गरिन ।

सियामेन युनिर्भरसिटी अफ टेक्नोलोजीमा हस्पिटालिटी म्यानेजमेन्टको स्नातक अन्तिम वर्षमा अध्ययनरत विनिता देवकोटा कोरोना भाइरसका संक्रमण फैलिएपछि कलेजहरु बन्द भए पनि प्रशासनले निकै चासो राखेको र बेलाबेलामा खानेकुराहरु ल्याइदिने, दैनिक स्वास्थ्य परीक्षण जस्ता काम गरिरहेको बताउँदै भाइरस संक्रमणले गर्दा मानसिक तनाव बढे पनि चिनीयाहरुले विदेशी विद्यार्थीका लागि आपतको बेलामा दिनुपर्ने सबै सुविधा दिएको बताउँछिन् ।

कोरोनाका कारण मानसिक समस्या समेत उत्पन्न हुने पत्ता लागेपछि विदेशी विद्यार्थीहरुलाई परामर्श समेत सुरु गरेको उनी बताउँछिन् ।

चीनका विभिन्न शहरबाट दैनिक दर्जन नेपाली र दर्जनौं चिनीया नेपाल आइरहेका छन् । तर उनीहरुको परीक्षण राम्रोसंग हुने गरेको छैन । हुन त आएका सबैँ भाइरस संक्रमित नै हुन्छन् भन्ने हैन तर सुरक्षा प्रबन्ध गतिलो नहुँदा यसको नकारात्मक प्रभाव परिरहेको छ । त्रिभुवन अन्तर्राष्टिूय विमानस्थलमा कोरोना परीक्षणको प्रभावकारी व्यवस्था नहुँदा यसले नेपालको पर्यटन व्यवसायलाई ठूलो धक्का लाग्ने खतरा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.