स्वदेश फर्किएपछि हर्षको वर्षा… यस्तो छ खरिपाटी क्यारेन्टाइन मेनु
चीनको हुबेई प्रान्तबाट सरकारले उद्धार गरी ल्याएका नेपालीहरुले ढिलो भए पनि देश फर्कन पाउँदा हर्षित भएको बताएका छन् । आइतबार विहान नेपाल वायुसेवा निगमको चार्टर विमानबाट १ सय ७५ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको हो ।
उद्धार गरिएकामा वुहानबाट ५५, चिङचौबाट ४८, यान्सबाट २६, सियानबाट २९, यिछाङबाट ८ र जिङ्मेनबाट ९ जना रहेका छन् । तीमध्ये १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।
घर फर्कन पाएका विद्यार्थीका अभिभावकले राहतको सास फेरेका छन्। उनीहरूले आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति नै बनाएका थिए । ‘क्वारेन्टाइनमा राख्ने भनिएको खरिपाटीमा के–कस्तो व्यवस्था छ, हामीलाई थाहा छैन। देशमै फर्किएपछि जेसुकै होस्। १५–२० दिनको कुरा न हो,’ संघर्ष समितिका संयोजक वसन्त भण्डारीले भने, ‘अर्काको देशमा डरलाग्दो रोगको महामारी भएका बेला छोराछोरीको चिन्ताले मन पोलेको थियो। अब शान्त भयो।’
अर्का अभिभावक दिनेश श्रेष्ठले क्वारेन्टाइनमा जति दिन राखे पनि आफ्नो कुनै गुनासो नरहने बताए। ‘क्वारेन्टाइनमा १४ दिन मात्र होइन, २१ दिनसम्म पनि राख्नुपर्ने हुन सक्छ भनेर हामीलाई जानकारी दिइएको छ। त्यसमा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘महामारीका बेला आफ्नो देश फर्कन पाउनु ठूलो कुरा हो।’ श्रेष्ठले आफूलाई अहिले बच्चा जन्मिँदा अस्पतालको अपरेसन थिएटर बाहिर कुरिरहेको जस्तो भान भएको सुनाए। नयाँ कोरोना भाइरस संक्रमणको केन्द्र मानिएको हुबेई प्रान्तलाई नै चीन सरकारले ‘लकडाउन’ गरेपछि नेपालीहरू हतास थिए।
बसमा सवार भएर वुहानको विमानस्थल पुगेका विद्यार्थीले खानेकुराको व्यवस्था आफैं गरेका थिए। ‘हामी होस्टेलमै केही खाएर निस्किएका थियौं। त्यसपछि रिफ्रेसमेन्ट सेन्टरमा रोकिँदा पनि केहीले खानेकुरा किनेका थिए,’ सुदीप राउतले भने, ‘कोही बाहिरको खानेकुरा खान डराए।’ उनले ढिलै भए पनि आफ्नो देश फर्किन पाउँदा सबै हर्षित भएको बताए। ‘यहाँ बसेर घरमा कुरा गर्दा अब फर्कनै पाइँदैन कि जस्तो लागेको थियो,’ उनले भने।
नेपालीको उद्धारका लागि गएको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान करिब १० बजे (नेपाली समय राति करिब ८ बजे) वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।
हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ। अरू छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जना ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन्। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।
चिनियाँ समयअनुसार शनिबार बिहान हुबेई प्रान्तका विभिन्न सहरबाट वुहानको तियानहे अन्तर्राष्ट्रिय विमानस्थलसम्म नेपालीलाई ल्याउन नेपाली दूतावासले पाँचवटा बसको प्रबन्ध गरेको थियो। हुबेईको चिङचौ, यान्स, सियान, यिछाङ, चिंमन र वुहानबाट विमानस्थलका लागि समय मिलाएर बसहरू छुटेका थिए। उद्धारको पर्खाइमा रहेका नेपाली सुरुमा बसमा सवार हुँदा तथा दुई घण्टाको अन्तरालमा विभिन्न रिफ्रेसमेन्ट सेन्टरमा रोकिँदा स्वास्थ्य जाँच गरिएको थियो ।
उनीहरुलाई भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको क्यारेन्टाइनमा राखिएको छ । त्यहाँ कडा निरगरानी र सुरक्षाा व्यवस्थाकाबीच खानपानको उचित प्रबन्ध गरिएको छ ।
यस्तो छ प्रबन्ध
क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधिलगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पु¥याइएको छ ।
एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ ।
मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।
क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।
कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।
क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ ।
क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।
स्थानीय बासिन्दामा त्रास नहोस् भनेर नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ । स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्