जन सरोकार

धमाधम विस्थापित हुँदै तुइन : दार्चुलाका चार ठाउँमा विस्थापन हुँदै

पहिलोपटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो घोषणा थियो दुई वर्षभित्र देशभरकाा तुइन विस्थापित गर्ने । यो दिशामा सोचेजस्तै परिणाम नआए पनि देशभरका दुई सयभन्दा बढी तुइन विस्थापित भैसकेका छन् ।

यसै क्रममा दार्चुलामा महाकाली नदीमाथि नेपाल भारत जोड्न लगाइएका चार तुइन विस्थापन हुने भएका छन् । तुइन विस्थापनअन्तर्गत चालु आर्थिक वर्षमा ब्यास गाउँपालिकाको मालघाट, बर्तिघाट, बडुगाउँ र मालिकार्जुन गाउँपलिकाको बाकुका तुइन विस्थापन हुने भएका हुन् ।

चारवटै ठाउँमा तुइन विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला तुइन विस्थापन गर्ने घोषणाअनुरुप महाकाली नदीमाथि लगाइएको तुइन विस्थापन गर्न लागिएको हो ।

तुइन विस्थापनअन्तर्गत ब्यास गाउँपालिका–२ को माल र वडा नम्बर ३ र ४ को बर्तीघाटमा झोलुङ्गे पूल निर्माण भइरहेको छ । यस क्षेत्रमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणको लागि कूल रु दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको छ । यस्तै ब्यास गाउँपालिका–६ को लागि बडुगाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । दुई वर्ष अघि ब्यासको वडा नम्बर ५ को तिगरममा झोलुङ्गे पुल निर्माण भइरसकेको छ ।

ब्यास गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ब्यास गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका तीन वटा झोलुङ्गे पुल निर्माण हुने बित्तिकै यहाँका सबै तुइन विस्थापन हुन्छन् ।”

यस्तै मालिकार्जुन गाउँपालिका–६ बाकुमा पनि झोलुङ्गे पुल निर्माण भइरहेको छ । यस क्षेत्रमा ट्युबमार्फत स्थानीय महाकाली नदी वारपार गर्दै आएका थिए । बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको छ ।

मालिका निर्माण सेवाले गत वर्ष लेकम गाउँपालिका–३ लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरेको थियो । चालु आर्थिक वर्षभित्र चार वटा पुल निर्माण सम्पन्न भएमा दार्चुलाबाट तुइन तथा ट्युब विस्थापन हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेअनुरुप जिल्लामा महाकाली नदीमाथि नेपाल भारत जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको छ । यअसघि ब्यास गाउँपालिका–६ को तिगरम र लेकम गाउँपालिका–३ को लाली, मालिकार्जुन गाउँपालिका–७ को जौलजीविमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएका छन् ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा तुइन विस्थापन गराउँदै झोलुङ्गे पुल निर्माण भइरहेको छ । वर्षाैंदेखिको सपना पूरा हुने भएपछि ब्यासवासी खुशी छन् । “विगतमा नेताले आश्वासन मात्रै दिने गरेका थिए”, वडाध्यक्ष धामीले भन्नुभयो, “अहिले प्रधानमन्त्रीले घोषणा गरेअनुरुप पुल निर्माण भइरहेको छ । जहाँ वर्षौंदेखि तुइन सञ्चालन हुँदै आएका थिए, त्यस क्षेत्रमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको छ ।”

नेपाल सरकारले शुरुमै नेपाल भारत जोड्ने महाकाली नदीमा ११ ठाउँमा पुल प्रस्ताव गरे पनि भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै स्वीकृत गर्न ढिलाइ गरेपछि पुल निर्माण ढिला भएको साविकको जिल्ला प्राविधिक कार्यालयका सहायक इञ्जिनीयर करनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक डेढ किलोमिटर क्षेत्रको फरकमा झोलुङ्गे पुल बनाउन नेपाल सरकारले प्रस्ताव आह्वान गरेको थियो तर भारतीय सरकारले सुरक्षा चुनौती हुने भन्दै ढिलाइ ग¥यो । प्रधानमन्त्रीको घोषणापछि महाकाली नदीका छ ठाउँमा पुल निर्माण भइरहेको छ ।”

यसो त जिल्लाका सहायक नदीमा समेत तुइन विस्थापन गरिएका छन् । जिल्लाभित्रको चौलानी नदीमा तीन वटा तुइन विस्थापन गरिएको धामीको भनाइ छ । “ब्यासका स्थानीयले दैनिकरुपमा जोखिमपूर्ण तुइन तर्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुँदैछ”, निर्माण व्यवसायी दीपक साउँदले भन्नुभयो । १८ महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको छ । यो वर्ष झोलुङ्गे पुलसँगै सुरक्षाकर्मीको लागि चेकपोष्ट र बस्ने कोठासमेत बनाउनुपर्ने छ । सबैतिर अहिले काम भइरहेको भन्दै कुनै विवाद नआए निर्धारित समयमै पुल निर्माण हुने उहाँले बताउनुभयो ।

ब्यासको दैनिकी भारतीय बजारमा निर्भर छ । मजदूरी गर्नदेखि लिएर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य हुने गरी अहिले झोलुङ्गे पुल निर्माण भइरहेको स्थानीय जयदेवसिंह धामीले बताउनुभयो । “विगतको जोखिमपूर्ण यात्रा अन्त्य हुने आशा पलाएको छ”, उहाँले भन्नुभयो ।

भारतीय पक्षले अन्तर्राष्ट्रिय नदीमा धेरै सङ्ख्यामा पुल निर्माण गर्न नसकिने भनेपछि शुरुमा दार्चुलाको लेकम गाउँपालिका–३ लाली र ब्यास गाउँपालिका–५ को तिग्रममा मात्रै झोलुङ्गे पुल निर्माण गर्न दिएको थियो । पछिल्लो समय नेपाल सरकारको पहलकदमीको कारण थप चार ठाउँमा पुल लगाउन अनुमति दिएपछि स्थानीय खुशी भएका छन् । अहिले बन्ने पूलले यहाँका सबै बासिन्दा तुइन र ट्युबको भरबाट मुक्त हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.