राजनीति

एमसीसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसीसी) कुनै बाइबल नभएकाले परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो ।

शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एमसीसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ”, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा शनिबारदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताउनुभयो । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताउनुभयो । फरक प्रसङ्गमा उहाँले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट गर्नुभयो ।

यसै गरी शनिबार नै नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ ।

“सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ । म अहिले यति मात्रै भन्न चाहन्छु ।”

अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गर्नुभयो । आउने दशक आम नेपाली युवाहरुलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत उहाँले आग्रह गर्नुभभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.