विश्व समाचार

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ ।

हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेका पनि समाचारमा जनाइएको छ । यस भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुबेइ प्रान्तका रहेका छन् ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ ।
चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ । इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ ।

बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपतकालीन बैठक बोलाउनु भएको छ ।

चीनपछि सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ५०० जना सङ्क्रमित भेटिएका छन् । त्यहाँ ४ हजार २१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क रहेको समाचारमा जनाइएको छ ।

त्यस्तै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या कूल ६६ पुगेको छ ।

इरानमा अघिल्लो दिन ५२३ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो सङ्ख्या तेब्बर बढेर एक हजार ५०१ पुगेको बताइएको छ ।

इरानका उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले सोमबार एक पत्रकार सम्मेलन गरी भन्नुभयो, “इरानमा मार्च २ को रातिसम्म मृत्यु हुने विरामीको सङ्ख्या ६६ पुगेको र सङ्क्रमणका कारण एक हजार ५०१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।”

इरानमा सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या ६६ बताइएपनि योभन्दा निकै धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या पनि निकै धेरै रहेको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण भएको भनिएको इरानको दक्षिणी क्षेत्रका एक सांसदले कोरोनाबारे सरकारले तथ्याङ्क लुकाएको भन्दै बीबीसीलाई गत बिहीबार दिएको तथ्याङ्कमा २१० व्यक्तिको मृत्यु भइसकेको बताएका थिए जबकी त्यतिबेलाको सरकारको तथ्याङ्कमा इरानमा मृत्य हुने व्यक्तिको सङ्ख्या ३० भन्दा कम उल्लेख गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.