विश्व समाचार

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको अद्भुत दृश्य

इजिप्टको दक्षिणी क्षेत्रमा अवस्थित तीन हजार वर्षभन्दा पुरानो मन्दिरको भित्री कक्षमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी प्राचीन मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य अवलोकन गर्न बिहीबार बिहान सयौँ पर्यटक तथा स्थानीयवासी भेला भए।

रामसेस द्वितीयको महान् मन्दिरमा हरेक वर्ष अक्टोबर २२ र फेब्रुअरी २२ मा सूर्यको किरण प्रवेश गर्छ। यी मितिलाई प्राचीन इजिप्टका राजा रामसेस द्वितीयको जन्मदिन र सिंहासनारोहणसँग सम्बन्धित मानिन्छ।

मन्दिरको वास्तुकला र सूर्यको अवस्थाबीचको विशेष पङ्क्तिबद्धताका कारण सूर्यको किरण भित्री कक्षसम्म पुग्छ र करिब २० मिनेटसम्म मूर्तिहरूलाई उज्यालो पार्छ।

इटालीका पर्यटकलाई स्थानीय पथप्रदर्शकका रूपमा सेवा दिँदै आएका हिशाम खेलाले यो दिन ऐतिहासिक महत्त्व बोकेको विशेष उत्सव भएको बताउनुभयो।

सूर्योदयसँगै देखिने दुर्लभ दृश्य हेर्न पर्यटकहरू बिहानैदेखि मन्दिर परिसरमा लामबद्ध भएका थिए। कतिपय रातभर नै त्यहाँ बसेका थिए।

सूर्यको किरणले प्राचीन मूर्तिहरू उज्यालो पारेको दृश्य कैद गर्न मोबाइल फोन र क्यामेरा बोकेका पर्यटकको भीड लागेको थियो। विशाल मूर्तिहरूको अगाडि भेला भएका मानिसहरू निकै साना देखिन्थे। मन्दिर नाइल नदीतर्फ फर्किएको छ।

उत्सवका क्रममा परम्परागत पोसाकमा सजिएका कलाकारहरूले मन्दिर परिसरमा नृत्य प्रस्तुत गरेका थिए। घण्टी, तबलाको ताल र प्राचीन इजिप्टमा प्रचलित बिगुलजस्तो बाजा ‘मिजमार’को धुनमा प्रस्तुत नृत्यले आगन्तुकलाई आकर्षित गरेको थियो।

मन्दिरको भित्री कक्षमा राजा रामसेस द्वितीयसँगै अमुन–रा र रा–होरख्ती देवताका मूर्तिहरू छन्। सामान्यतया अँध्यारो रहने यस कक्षमा सूर्यको किरण करिब ६० मिटर भित्रसम्म पुग्छ।

नेसनल रिसर्च इन्स्टिच्युट अफ एस्ट्रोनोमी एन्ड जियोफिजिक्सका अनुसार मन्दिरको वास्तु संरचना र सूर्यको अवस्थाबीचको विशेष सम्बन्धले यो दुर्लभ दृश्य सम्भव बनाएको हो।

अमेरिकाको एटलान्टाबाट इजिप्ट पुग्नुभएकी जेनिस साउदीले विशाल मूर्ति र तिनको संरक्षणबाट आफू प्रभावित भएको बताउनुभयो। मन्दिरका भित्तामा कुँदिएका आकृति, चित्रलिपि र रङहरूको सुन्दरताले आफूलाई अझ बढी आकर्षित गरेको उहाँले उल्लेख गर्नुभयो।

यस प्राचीन सम्पदाको संरक्षणका लागि सन् १९६० को दशकमा ठूलो प्रयास गरिएको थियो। अस्वान उच्च बाँध निर्माणपछि जलाशयको पानीले मन्दिर डुबानमा पर्न सक्ने जोखिम बढेपछि पुरातत्त्वविद् र इन्जिनियरहरूले मन्दिरलाई टुक्राटुक्रा पारेर सुरक्षित स्थानमा स्थानान्तरण गरेका थिए। स्थानान्तरणका क्रममा सूर्यको किरण भित्री कक्षसम्म पुग्ने गरी मन्दिरको मूल पङ्क्तिबद्धता कायम राख्न विशेष ध्यान दिइएको थियो।

हजारौँ वर्षअघि निर्माण गरिएको मन्दिरको वास्तुकलामा सूर्यको अवस्थालाई ध्यानमा राखिएको मानिन्छ। आधुनिक प्रविधिको सहायताले स्थानान्तरण गरिएपछि पनि वर्षमा दुई पटक देखिने यो दृश्यले प्राचीन इजिप्टवासीको वास्तुकला र खगोलीय ज्ञानप्रति विश्वको ध्यान खिच्दै आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.