जन सरोकार

हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प

आइतबार बिहानदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ ।

बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

हिमपातपछि स्थानीय र पर्यटकको आवतजावत रोकिएको छ । चिसो बढेको छ । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बसेका छन् । खोला, धारामा पानी जमेको छ । डाँडापाखा सेताम्मे हिउँले छोपिएको छ । सडक, भवन, पुल, खानेपानी, सिँचाइलगायत विकास आयोजना निर्माण रोकिएको छ ।

बिहानदेखि उपल्लो मुुस्ताङमा अवरुद्ध बनेको विद्युुत् र सञ्चार सेवा अपराह्नदेखि सञ्चालन भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुुरुङले बताउनुभयो । चौँरी, च्याङ्गा, गाईलगायत घरपालुवा पशुुलाई गोठमै राखिएको छ ।

हिन्दुु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि हिउँ जमेको छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकमा यातायात सेवा सडकमा हिउँ जमेका कारण प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

हिमपात र वर्षाले हिउँदे तथा हिमाली फलफूल खेतीलाई फाइदा गरेको छ । हिउँले जमिनमा राखेको मल भिजाउन, सिँचाइका साथै स्याउ, ओखरको परागशेचन प्रक्रियाका लागि चिसो वातावरण बनाउन सहयोग गर्ने कृषि ज्ञान केन्द्र मुुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो ।

“स्याउको परागशेचनका लागि एक हजार पाँच सय घण्टा सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.