स्याङ्जाको गल्याङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, १७ जना घाइते
स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार गल्याङ बजारबाट साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनामा गल्याङ नगरपालिका–८ की करिब २५ वर्षीया निशा पचभैया र गल्याङ नगरपालिका–९ का करिब ६० वर्षीय यमबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १७ जनामध्ये १५ जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेकाले उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते रहेका दुई जनालाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको डीएसपी अवस्थीले जानकारी दिनुभयो।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उकालो घुम्तीमा जिप अनियन्त्रित भएपछि दुर्घटना भएको देखिएको छ।




प्रतिक्रिया राख्नुहोस्