राजनीति

नेकपाको आधिकारिक नाम ऋषि कट्टेलको पक्षमा, के गर्लान अब ओली, प्रचण्डहरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नाममा दर्ता भएको र एमाले तथा माओवादी केन्द्र एकतापछि गठन भएको सोही नामको पार्टी आधिकारिक नभएको भन्दै परेको मुद्दामा सवोच्च अदालतले रिट दायरकर्ता ऋषि कट्टेलको पक्षमा फैसला गरेको छ ।

सत्तारुढ दल विभाजित भएर दुई समूहमा नेकपा सक्रिय रहेका बेला अदालतका प्रवक्ता भद्रकाली पोखरेलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको बताउनुभएको छ ।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार फैसला सुनाएको हो । नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसला आएको छ ।

आफ्नो पक्षमा फैसला आएपछि नेकपाका नेता कट्टेलले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अस्तित्व सकिएको टिप्पणी गर्नुभएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अब नाम फेर्नुपर्ने अवस्था आएको छ ।

प्रधानमन्त्री केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेल २०७५ मङ्सिर २१ गते रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदन माथिको सुनुवाइ फागुन १३ गते सकिएको थियो ।

सर्वोच्च अदालतले फागुन २० गते नै त्यसबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बिदा भएपछि आइतवारका लागि फैसला सारिएको थियो ।

 

सम्बन्धित खबर

Back to top button