राजनीति

सरकार टिकाउन माओवादीसंग सहकार्य गर्ने माधव समूहको निष्कर्ष

नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रचण्ड समूहमा लाग्नुभएका एमाले वरिष्ठ नेता माधव नेपाल समूहले माओवादी केन्द्रसंग सत्ता सहकार्य गरी वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतको फैसलापछि सांसदहरू एमाले र माओवादी केन्द्रमा विभाजन भएकाले केपी ओली नेतृत्वको सरकार संकटमा परेको छ । बुधबार नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो ।

बैठका एमाले वरिष्ठ नेता नेपालले वामपन्थी घोषणापत्र जारी गरेर त्यसको बलमा प्राप्त जनमतलाई जोगाएर जानुपर्ने धारणा राख्नुभएको थियो । अर्का वरिष्ठ नेता झलनाथ खनालको धारणा पनि नेपालकै जस्तो थियो । खनालले त बुधबार प्रतिनिधिसभा बैठकपछि सार्वजनिक रूपमै एमालेको सरकारलाई अब दुई वर्षसम्म टिकाउन लाग्ने बताउनुभएको थियो

केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकपछि नेता रघुजी पन्तले सरकारको विषयमा अहिलेको गठबन्धन टुटाउन नहुने धारणा अधिकांशको रहेको जानकारी दिंदै सरकार वामपन्थीहरूको हुनुपर्छ, त्यसैले यो परिस्थिति निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

अहिले माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा वा संसद्मा अविश्वासको प्रस्ताव आउँदा एमाले नेतृत्वको सरकार टिकाउन समस्या हुन्छ । त्यसैले सकेसम्म माओवादी केन्द्रसँगको सहकार्यलाई जोगाउँदै जानुपर्नेमा नेपाल समूहको जोड छ ।

नेपाल समूह नेकपामा तत्कालीन माओवादी केन्द्र धारसँग मिलेर अघि बढेको थियो । संसद् विघटन गर्ने ओलीको कदमविरुद्ध सडक संघर्षसमेत गरेको यो समूह सर्वोच्च अदालतको फैसलापछि ओलीसँगै मिलेर जानुपर्ने अवस्थामा पुगेको छ । त्यसैले नयाँ परिवेशमा विगतको एमालेको शक्तिलाई कायम राख्दै त्यसका लागि सबैले आ–आफ्नो ढंगबाट अधिकतम योगदान गर्नुपर्ने नेताहरूले बताएका छन् ।

५० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित अनौपचारिक बैठकमा बोल्ने अधिकांशले सर्वोच्च अदालतको फैसलापछि ओली समूहले देखाएको उच्छृंखलताप्रति आपत्ति जनाएका थिए । पार्टी कार्यालयहरू कब्जा गर्ने, हतारमा छलफल नगरी कमिटीभन्दा बाहिरका अनधिकृत मानिस प्रयोग गरी कार्यालयका बोर्डहरू परिवर्तन गर्नेलगायतका घटना भएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए ।

सम्बन्धित खबर

Back to top button