नेपालीहरूको प्रमुख चाड बडादसैँमा देशभर टीका, जमरा र पारिवारिक भेटघाटको उल्लास छाइरहँदा रोजगारीको खोजीमा विदेशिने युवाको क्रम भने रोकिएको छैन।
परिवारसँग चाड मनाउने रहर हुँदाहुँदै पनि भविष्य निर्माण र आर्थिक अवस्था सुधार्ने उद्देश्यले युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पनि विदेश जाने यात्रुको चहलपहल देखिन्थ्यो। रोजगारी, अध्ययन, पारिवारिक भेटघाट र अन्य कामका लागि विदेश जाने नेपालीमध्ये ठूलो सङ्ख्या रोजगारीको खोजीमा रहेका युवायुवतीको थियो।
दसैँमा परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने परम्परा भए पनि रोजगारीको बाध्यताले धेरै युवालाई चाडपर्वकै बेला घर छाड्नुपर्ने अवस्था सिर्जना गरेको छ।
रोजगारीका लागि विदेशिन लाग्नुभएका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त अवसर नहुँदा विदेश जानुपरेको बताउनुभयो।
“योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदै छु,” उहाँले भन्नुभयो।
शिक्षा, स्वास्थ्य र दैनिक घरखर्च व्यवस्थापन गर्नुका साथै परिवारको आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि बचत गर्ने उद्देश्यले विदेश जान लागेको उहाँको भनाइ छ।
विमानस्थलमा भेटिनुभएका गुल्मीका प्रकाश खत्रीले पनि स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा युवा पुस्ता विदेशिन बाध्य भएको बताउनुभयो।
“नेपालमा रोजगारीको अवसर छैन, भए पनि सेवासुविधा न्यून छ। आर्थिक र सामाजिक अवस्था सुधार्ने आशामा युवाले विदेशलाई प्राथमिकता दिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो।
छोरालाई विदेश पठाउन विमानस्थल आउनुभएका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग गरे पनि सक्रिय जनशक्ति विदेशिँदा देशले दीर्घकालीन चुनौती सामना गर्नुपर्ने बताउनुभयो।
दक्ष र मेहनती युवा विदेशिँदा कृषि, उद्योग, निर्माण, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ।
सरकारहरूले युवामा श्रम संस्कृति विकास गर्ने र सीपअनुसारको रोजगारी उपलब्ध गराउने वातावरण बनाउन अपेक्षित सफलता हासिल गर्न सकेका छैनन्।
श्रमको उचित मूल्य, सामाजिक सम्मान, कामको सुरक्षा र भविष्यको सुनिश्चितता नहुँदा स्वदेशमा उपलब्ध कतिपय कामप्रति युवाको आकर्षण कमजोर छ।
विदेशमा कठिन शारीरिक श्रम गर्न तयार हुने युवा स्वदेशमा त्यस्तै काम गर्न हिचकिचाउनुमा कामको प्रकृति मात्र जिम्मेवार छैन। पारिश्रमिक, सुविधाको अवस्था र समाजले पेसालाई हेर्ने दृष्टिकोण पनि उत्तिकै महत्त्वपूर्ण छन्।
कृषिलाई सम्मानित, व्यावसायिक र लाभदायक पेसाका रूपमा स्थापित गर्न नसक्नु पनि युवा पलायनसँग जोडिएको विषय हो। उत्पादन लागत बढ्नु, बजारको अनिश्चितता, उचित मूल्य नपाइनु तथा प्रविधि र पूर्वाधारको कमीले कृषिमा भविष्य खोज्ने युवालाई निरुत्साहित गरिरहेको छ ।
त्यस्तै, हस्तकला, घरेलु उद्योग, परम्परागत सीप र पुर्ख्यौली व्यवसायलाई आधुनिक बजार तथा प्रविधिसँग जोड्न नसक्दा नयाँ पुस्ताको आकर्षण घट्दो छ। यस्ता पेसाबाट सम्मानजनक आम्दानी गर्न सकिने वातावरण नबनेसम्म परम्परागत सीप हस्तान्तरण र स्थानीय उद्यमको विकास कठिन हुन्छ।
स्थानीय उत्पादनले बजार नपाउनु उत्पादनमूलक अर्थतन्त्रको अर्को चुनौती हो। किसान तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तुको बिक्री सुनिश्चित नहुँदा आम्दानी अनिश्चित हुन्छ। वितरण प्रणाली कमजोर हुनु, उत्पादनको उचित मूल्य नपाइनु र बिचौलियाको प्रभावले पनि स्थानीय उत्पादकलाई समस्या पारिरहेको छ ।
अवैध आयात तथा भन्सार छलीबाट भित्रिने वस्तुले स्वदेशी उत्पादनसँग अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न सक्छ। यसले स्थानीय उद्योगको बजार खुम्च्याउने र उत्पादन तथा रोजगारी विस्तारमा बाधा पुर्याइरहेको छ । त्यसैले अवैध आयात नियन्त्रणसँगै स्वदेशी उत्पादनको गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता र बजार पहुँच बढाउनु आवश्यक छ।
देशभित्र पर्याप्त रोजगारी सिर्जना गर्न उद्योगधन्दा तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुनुपर्छ। नीतिगत अनिश्चितता, प्रशासनिक झन्झट, लगानीको चुनौती र उत्पादन लागतजस्ता विषयले उद्योग स्थापना तथा सञ्चालनलाई कठिन बनाइरहेको छ ।
कृषि, पर्यटन, सूचना प्रविधि, निर्माण, घरेलु उद्योग र उत्पादनमूलक क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्न सके युवाले स्वदेशमै आफ्नो सीप र श्रम प्रयोग गर्ने सम्भावना बढ्छ। त्यसका लागि सीप विकासका कार्यक्रमलाई बजारको मागसँग जोड्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र श्रमको उचित मूल्य सुनिश्चित गर्ने नीति आवश्यक हुन्छ।
दसैँमा विदेशिने युवाको भीडलाई विदेशप्रतिको आकर्षणका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यसले स्वदेशमा अवसरको खोजी गरिरहेका नागरिकका अपेक्षा र देशको उत्पादन प्रणालीमा रहेका चुनौतीलाई पनि देखाउँछ।
युवालाई विदेश जानबाट रोक्नु मात्र समाधान होइन; उनीहरूले स्वेच्छाले स्वदेशमै काम गर्न, उद्यम गर्न र सम्मानजनक जीवन बिताउन सक्ने वातावरण निर्माण गर्नु मुख्य आवश्यकता हो।
दसैँका बेला पनि विदेशिने युवाको क्रमले नेपालको रोजगारी समस्या केवल बेरोजगारीको विषय नभई उत्पादन, श्रमप्रतिको सामाजिक दृष्टिकोण र आर्थिक अवसरसँग जोडिएको देखाउँछ। विदेशमा रोजगारी खोज्ने युवालाई स्वदेशमै भविष्य निर्माण गर्न सक्ने वातावरण तयार गर्नु मुख्य चुनौती बनेको छ।




प्रतिक्रिया राख्नुहोस्