राजनीति

नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरु हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ । उहाँले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहनुभएको जानकारीसमेत दिनुभयो ।

विश्व मिर्गौला दिवसका अवसरमा बिहिबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले “मिर्गौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले समेत दुईपटक मिर्गौला प्रत्यारोपण गराइसक्नुभएको छ ।

“हाम्रो खानपिन वा दैनिकीमा मिर्गौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो रु त्यसबाट कसरी जोगिनेजस्ता कुरालाई ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उहाँले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग हुनुपर्ने बताउनुभयो ।

पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराउनुभयो । “केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ”, उहाँको भनाइ थियो ।

मिर्गौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओली सम्बोधनपछिको प्रभातफेरीमा पनि सहभागी हुनुभएको थियो । वसन्तपुरबाट शुरु भएको प्रभातफेरी रत्नपार्क, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो ।

वरिष्ठ मिर्गौला रोगविशेषज्ञ डा ऋषिकुमार काफ्ले वर्षेनी नेपालमा तीन हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको बताउनुहुन्छ । उहाँले जीवनशैली, खानपान ख्याल नगर्दा मानिसको मिर्गौला बिग्रने गरेको बताउनुभयो । अस्वस्थकर जीवनशैली, पानीको कमी, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नराउनुजस्ता कारणले मिर्गौला रोग लाग्ने गर्छ ।

उहाँका अनुसार मिर्गौला रोगबाट बचाउनका लागि मानिसमा जनचेतना जगाउन आवश्यक छ । “बिग्रँदो जीवनशैली र खानपान सन्तुलन नराख्दा मानिसको मिर्गौला बिग्रने गरेको छ”, उहाँले भन्नुभयो, “उपचारभन्दा पनि मिर्गौला बिग्रन नदिनका लागि मानिसलाई जनचेतना जगाउन आवश्यक छ ।”

विश्वको जनसङ्ख्यामध्ये १० प्रतिशत मानिसलाई मिर्गौला रोग लाग्छ । मिर्गौला बिग्रिएपछि प्रत्यारोपण र रक्तशुद्धीकरण दुई मात्र विकल्प हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, सुमेरु अस्पताल र निदान अस्पतालमा गरिन्छ ।

सरकारले मिर्गौला प्रत्यारोपण र रक्तशुद्धीकरणको निःशुल्क व्यवस्था गरेको छ । डा काफ्लेका वर्षेनी पाँच हजारले डायलासिस र दुई हजार ५०० जनाले मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् । ‘मिर्गौला रोगका साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.