अर्थकृषि

तीनदिनको हुरीले झापाको केराखेतीमा ठूलो क्षति

तीन दिनदेखि लगाताको हुरीका कारण झापामा लगाइएको केराखेतीमा ठूलो क्षति भएको छ । झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको मात्रै दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ ।

“भाँचिएका सबै केराघरी लागेका रहेछन्”, उहाँले भन्नुभयो, “पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ ।”

उहाँका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो । केरा नष्ट हुँदा करिब रु १६ लाखको क्षति भएको उहाँले बताउनुभयो ।

किसान बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक–पटक मारमा पारेको बताउनुभयो । यसअघि गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीले उहाँको करिब रु एक करोड बराबरको केराखेती नष्ट गरेको थियो ।

“बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो”, बस्नेतले भन्नुभयोे, “अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को क्षति । प्रकृति विपद् पनि मलाई मात्र आउँछ कि जस्तो हुन थल्यो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.