चरम राजनीतिकरणले दह्रो पकड जमाएर बसेका काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती सहजै खाली भएको छ । यसका लागि केन्द्र सरकार र स्थानीय तहको राम्रो समन्वय रह्यो ।
यसअघि काठमाडौँ महानगरपालिकाले लामो समयदेखि प्रयास गर्दै आएको नदी किनारका अव्यवस्थित बस्ती हटाउने कार्यमा सरकारले साथ दिएको थिएन । विभिन्न राजनीतिक दलहरुले बिरोध गर्दै सडक प्रदर्शन समेत गर्ने गरेका थिए ।
यसपटक काठमाडौं महानगरपालिकाका प्रमुख रहिसक्नुभएका बालेन्द्र शाह नेतृत्वको सरकारले अव्यवस्थित बस्ती हटाउने र विस्थापितहरुलाई पुनःस्थापना गर्न राम्रो तयारी र समन्वय गरेपछि बस्ती खाली गराउने अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।
महानगरले बस्ती खाली गराउन वैशाख ९, १० र ११ गते माइकिङमार्फत पूर्वसूचना जारी गरेको थियो । ११ गते बेलुकी ७ बजेभित्र स्वतःस्फूर्त रूपमा टहरा खाली गर्न आग्रह गरिएकोमा सोही अनुसार १२ गते बिहान साढे ६ बजेदेखि महानगरले संरचना हटाउन सुरु गरेको हो ।
यसअघि महानगरको यस्तो प्रयासका क्रममा झडप र तनाव उत्पन्न हुने गरेको भए तापनि यस पटक परिस्थिति शान्त रह्यो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यस पटकको सफलताको मुख्य कारण केन्द्र र स्थानीय सरकारबिचको सुदृढ समन्वय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समय परिवर्तनशील हुन्छ, परिस्थिति सधैँ एउटै रहँदैन । सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन र सबै निकायको सक्रिय भूमिकाले यस पटक हामीले निर्वाध रूपमा काम गर्न सक्यौँ ।”
महानगरले घरबारविहीन भएका व्यक्तिका लागि कीर्तिपुरको सुन्दरीघाटस्थित ‘राधास्वामी सत्सङ्ग’ को संरचनामा करिब तीन हजार जना अट्ने ‘होल्डिङ सेन्टर’ को व्यवस्था गरेको थियो । केही व्यक्तिलाई अस्पताल पुर्याउनुका साथै सेल्टरमा जान आग्रह गर्दा समेत अधिकांशले जान इच्छा देखाएनन् ।
प्रहरी प्रमुख जोशीले थप्नुभयो, “उहाँहरूको आफ्नै गन्तव्य रहेछ । केहीले आफूलाई घरबारविहीन भने पनि त्यहाँबाट आफ्नै बासस्थानतर्फ लाग्नुभयो । वास्तवमा यहाँ बस्ने धेरैजसो मानिस वास्तविक सुकुमवासी नभएको पुष्टि हुन्छ ।”
महानगरले यो क्षेत्रलाई हराभरा बनाउने र नदी किनारलाई व्यवस्थित पार्क एवं मनोरञ्जन स्थलका रूपमा विकास गर्ने परियोजना अघि बढाएको छ । लामो समयदेखि युएन पार्क निर्माणको प्रयास गरिए तापनि अव्यवस्थित बसोवासका कारण काम अघि बढ्न सकेको थिएन ।
ललितपुरतर्फ निर्माण गरिएको नमुना पार्कजस्तै अब काठमाडौँतर्फ पनि सोही मोडेलमा विकासका कार्य सुरु हुने महानगरको भनाइ छ । सुकुमवासीका नाममा लामो समयदेखि जग्गा कब्जा गर्ने प्रवृत्तिलाई ‘हुकुम्बासी रजगज’ को संज्ञा दिँदै महानगर प्रहरीले अबका दिनमा अवैध बसोवास सम्भव नभएको सन्देश प्रवाह भएको दाबी गरेको छ ।
शनिबार विहानैदेखि थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि गैरी गाउँ र तीनकुने तथा मनोहरा नदी किनारमा बसेका सुकुम्बासीहरु आआफ्ना सामान ओसार्न व्यस्त थिए । विस्थापितहरुलाई दशरथ रंगशालामा राखेर वास्तविक सुकुम्बासी र गैरसुकुम्बासीको पहिचान गरिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्