(एमाले) खनाल-नेपाल पक्षको भेला सुरु, ओलीको पछिलाग्न नसकिने नेताहरुको भनाई

नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ । बिहिबारसम्म चल्ने भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको छ ।
सर्वोच्च अदालतले माओवादी र एमालेको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि नेकपाको प्रचण्ड समूहमा लागेका खनाल, नेपाल पक्षमा रहेका एमाले नेताहरु (नेकपा) हुँदाकै अवस्थामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बिरुद्ध उत्रिएका छन् ।
भेलामा सहभागीहरुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । उनीहरुले ओलीको स्वभाव विधि र विधान विपरीत हिँड्ने भएकाले उनको पछि लाग्न नसकिने बताएका छन् ।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अध्यक्ष ओली अगाडि बढ्नुपर्नेमा जथाभावी निर्णय गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो ‘केपी ओलीले जुन ढ्रगले त्यो काम गर्नुभएको छ । पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ । यसले पार्टीमा रोष पैदा भएको छ’ । वरिष्ठ नेता खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने पनि बताउनुभयो ।
गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुको उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गर्नुभएको थियो ।
कार्यक्रम परिसरमा कम्युनिस्ट नेताहरु र एमालेका संस्थापक नेताहरुको तस्बिर राखिएको छ । भेला स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।





प्रतिक्रिया राख्नुहोस्