५५ देशमा रहेका नेपालीलाई सरकारको आग्रह : जहाँ छ त्यही बस्नु

मार्च २० देखि लागू हुने गरी घोषणा गरेको यात्रा प्रतिबन्धका कारण कोरोना संक्रमित ५५ देशमा रहेका नेपालीहरुले स्वदेश फर्कनुपर्ने माग गरे पनि सरकारले भने जहाँ बसेको छ त्यही सुरक्षाका साथ बस्न आव्हान गरेको छ ।
तर प्रतिबन्ध लागेका देशमा रहेका कतिपय नेपालीको भिसा अवधि सकिने अवस्था छ भने कतिपयले नेपाल नआई नहुने काम रहेको बताएका छन् ।
बुधबार कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले प्रतिबन्ध लागेका देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन नपाउने प्रष्ट पारेका छन् ।
यद्यपि वैदेशिक रोजगारीमा गएकाहरुको हकमा भने सरकारले कूटनीतिक पहल गर्ने बताएको छ । वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल सरकारले तोकेको दिनभन्दा अघि नेपाल नआउन कामदारलाई आग्रह गर्दै कतिपय देशले त प्रस्थान अनुमति नै नदिएको भन्दै नेपाल आउन नपाएर कामदारहरु ‘अवैधानिक’ हुने अवस्था आए सरकारले त्यहाँको सरकारसँग समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।
दाहालले समस्या भए दूतावासमा सम्पर्क गर्न कामदारहरुलाई आग्रह गर्द परिवारसँग नियमित सम्पर्कमा रहन र सम्बन्धित मुलुकले लागू गरेको नियम पालना गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्