जन सरोकार

संकटमा 'भाइरल' बनेर पैसा कमाउने बिरुद्ध उत्रियो प्रहरी… सेनाले दियो कडा विज्ञप्ति

शनिबार दिनभरि दुईवटा समाचारले निकै हल्लीखली भयो, सामाजिक सञ्जालहरुमा व्यापक चर्चा पायो । पहिलो नर्भिक अस्पतालमा कोरोना संक्रमित भेटिएको अडियो सन्देश र अर्को नेपाली सेनाले शनिबार राति हेलिकोप्टरबाट किटनाशक औषधि छर्कन लागेको विषय ।

पहिलो सन्देश प्रवाह गर्नेलाई प्रहरीले शनिबार दिउँसो नै पक्राउ गर्यो भने नेपाली सेनाले एक विज्ञप्ति जारी गरी भ्रामक समाचारको भरनपर्न अनुरोध गर्दै त्यस्तो कुनै योजना नरहेको बतायो । यी दुबै समाचार केवल भ्यू बढाउनकै लागि तयार गरिएको पुष्टि भएको छ ।

सेनाले एक विज्ञप्ति जारी गरी हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड १९)को उच्‍च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको जनाउँदै नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ- “हालको संवेदनशील घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ । कोरोना भाईरस (कोभिड १९) प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन समेत हार्दिक अनुरोध गरिन्छ ।”

नेपाली सेनाले कोरोना भाईरस (कोभिड १९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको  विज्ञप्तिमार्फत जनाइएको छ ।

कतिपयलाई संकटको स्थितिमा सामाजिक संजालहरुमा गलत सूचना फैलाएर पैसा कमाउने ध्याउन्न पनि हुन्छ । यी दुबै घटना यसै विषयसंग सम्बन्धित छन् । औषधि छर्कने विषयलाई अनेक तानाबाना बुनेर भिडियो बनाएर युटुबमा समेत राखियो । त्यो व्यापक मात्रामा शेयर पनि भयो । हुन पनि यस्तो विषयलाई जनताले पत्याउने नै भए । तर, यस्ता गलत, भ्रामक र जनमानसलाई त्रस्त बनाउने कुनै पनि विचार प्रवाह गर्नुअघि सामाजिक उत्तरदायित्व र मानवताको पनि ख्याल गर्नुपर्ने आम टिप्पणी अहिले भैरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.