विश्व समाचार

बेलायती राजकुमार चाल्र्स कोरोना संक्रमित : इटाली र स्पेनको अवस्था भयावह

युरोपमा भयावह रुप लिइरहेको कोरोना भाइरसले बेलायती राजकुमार चाल्र्सलाई पनि संक्रमित गरेको छ । त्यस्तै स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको छ ।

युरोपको इटाली र स्पेनमा कोरोनाको भयावह स्थिति छ । इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् । त्यसतै स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६४७ पुगेको हो ।

स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ । स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन मतदान गरिने भएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो ।

चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ । बुधबार यो सङ्ख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् ।

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.