भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा बैंगलोरले पञ्जाब किङ्सलाई चार विकेटले पराजित गरेको हो ।
अन्तिम ओभरमा दश रन चाहिएको अवस्थामा दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गर्दै बैंगलोरलाई जित दिलाएका हुन् । बैंगलोरको एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो । उसका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए भने प्रभ सिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।
त्यस्तै जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन जोड्दा शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए भने साम करनले १७ बलमा ३ चौकाको सहयोगमा २३ रन जोडे ।बैंगलोरका लागि ग्लेन म्याक्सवेल र मोहम्मद सिराजले समान २-२ विकेट लिए भने अल्जारी जोसेप र यस दयालको भागमा समान १-१ विकेट रह्यो ।
पञ्जाबले दिएको १७७ रनको लक्ष्य बैंगलोरले ४ बल बाँकी छॅंदै पुरा गरेको हो । बैंगलोरका लागि ओपनर विराट कोहलीले ४९ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले भने दिनेश कार्तिक २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे । त्यस्तै रजत पढीदरले १८ र अनुज रावतले ११ रनको योगदान गरे । पञ्जाबको लागि कागिसो रविडा र हरप्रित ब्रारले सर्वाधिक समान २-२ विकेट लिए भने हर्ष पटेल र साम कुरानको भागमा समान १-१ विकेट रह्यो ।
पहिलो खेलमा बैंगलोर चेन्नई सुपर किंग्ससॅंग ६ विकेटले पराजित हुँदा पञ्जाबले दिल्ली क्यापीटल्सलाई ४ विकेटले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार बेलुकी ७:४५ बजे चेन्नई सुपर किंग्स र गुजरात टाईटन्स भिड्दै छन् ।




प्रतिक्रिया राख्नुहोस्