जन सरोकार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको एसइई परीक्षा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ शान्तिपूर्ण रुपमा भएको छ ।

एसइई परीक्षा

परीक्षा आज बिहान ८ बजेबाट देशभर एकै साथ सुरु भएको हो । चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले जानकारी दिनुभयो । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैमा उहाँले आह्वान गर्नुभएको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेको उहाँले बताउनुभयो । परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी छन् ।

परीक्षाका लागि सबैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र र काठमाडौँमा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र कायम गरिएको छ । जापानमा रहेको एभरेष्ट स्कुलमा कायम गरिएको एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिँदैछन् ।

परीक्षाका लागि प्रत्यक्ष रूपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन भएका छन् । प्रतिकेन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ जना निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ जना परीक्षा सहायकसमेत खटिएका छन् भने ५० परीक्षार्थी बराबर एक जना कार्यालय सहयोगी गरी १० हजार ८१ कार्यालय सहयोगी खटिएका छन् । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेर यस वर्षको परीक्षामा लागू गरेकाले अब सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने भएको छ ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने बताउनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने छ । उहाँले ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको जानकारी दिनुभयो । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.