जन सरोकार

शनिबार हुने भो जयनगर–जनकपुर रेलको उद्घाटन

रेलमार्ग निर्माण भएर रेल समेत भित्रिसकेको भारतको जयनगरदेखि नेपालको जनकपुर खण्डमा सञ्चालन हुने रेल बल्ल उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री शेबरहादुर देउवाको भारत भ्रमणका क्रममा दुबै मुलुकका प्रधानमन्त्रीले आउँदो शनिबार संयुक्त रुपमा सो रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

१७ महिनादेखि थन्किएर बसेको रेलको अहिलेसम्म आधिकारिक रुपमा उद्घाटन हुन सकेको छैन । अहिले ‘ड्राइ रन’का रुपमा रेल चलाइएको छ । उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । दुई देशका प्रधानमन्त्रीले रेलको उद्घाटन गरेपछि यात्रु बोकेर गुड्ने छ ।

२०७७ असोजमा जयनगर–जनकपुर खण्डमा चलाउन ल्याइएका दुई वटा रेल सेट लामो समय त्रिपालले छोपेर राखिएको थियो ।रेल सञ्चालनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी रहने छन् ।

अहिले रेल सञ्चालनको तालिम लिएर बसेका ६० जना नेपाली कर्मचारी छन् । कुर्थादेखि जयनगरसम्म यात्रा गर्नेले सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्ने गरी भाडादर कायम गरिसकिएको छ । भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।

रेल संचालनका लागि कानुनी अबरोध फुकाउन केही दिनअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गर्नुभएको थियो । यसअघि जारी भएका दुई अध्यादेश संसदबाट पारित भएपछि निस्क्रिय भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.