अर्थ

नेपालको वैदेशिक रोजगारीमा पुनः ग्रहण- आर्थिक संकट चुलिने संकेत

झण्डै पौने वर्षसम्म अबरुद्ध भएको नेपालको वैदेशिक रोजगारीमा पुनः ग्रहण लाग्न थालेको छ । कोरोना भाइरसबिरुद्धको खोप प्रयोगमा आइसके पनि संक्रमणको अर्को लहर सुरु हुँदा श्रम बजारमा पुरानै संकट देखिएको हो ।

लामो समय घरबसेर पुनः विदेश फर्किएका नेपालीहरुमा अहिले नयाँ चिन्ता थपिएको छ । नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक मानिएका मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन र दक्षिण कोरियाजस्ता देशमा दोस्रो लहर फैलिन थालेपछि त्रास पनि बढ्न थालेको छ ।

सन् २०२० को झण्डै नौ महिनासम्म पूरै प्रभावित भएको वैदेशिक श्रम बजार हालै मात्र खुलेर गति लिन नपाउँदै पुनः कोरोनाको सङ्क्रमणले वैदेशिक रोजगारीमा गएका परिवारमा समेत त्रास बढेको हो । कोरोना प्रभावित देशमा रहेका नेपाली दूतावासले सार्वजनिक सूचना निकालेर सर्तक र सुरक्षित रहन नेपालीलाई आग्रह गरिसकेका छन् ।

गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेको भए पनि नयाँ सङ्क्रमण पुनः बढ्न थालेको छ । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा सङ्क्रमण हुँदै गएसँगै श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या क्रमशः बढ्न थालेको थियो ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले श्रम गन्तव्य देशमा कोरोना सङ्क्रमणको नयाँ लहर फैलिन थालिसकेकाले ती मुलुकमा रहेका दूतावास र सरकारले विशेष तयारी अहिलेबाटै थाल्नुुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ यसअघि कोरोनाले सिकाएका भोगाइको अनुुभवलाई लिएर तयारी गर्नुपर्छ । कोरोना सङ्क्रमण बढेको श्रम गन्तव्य देशमा तत्काल जाने तयारी गरेका युवालाई जाने देशको सङ्क्रमणको अवस्था सबै बुुझेर मात्रै यात्रा तय गर्नुपर्छ ।

दूतावासले सतर्क रहनु भन्ने सूचना जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने भन्दै डा. गुुरुङले श्रम गन्तव्य देशमा कोरोना सङ्क्रमण बढेर नेपाली उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । त्यस्तो परिस्थितिका लागि दूतावास आन्तरिक तयारीमा रहनुपर्ने उहाँको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालीका प्रमुुख श्रम गन्तव्य देशमा पछिल्लो पटक कोरोना सङ्क्रमण दर पुनः बढ्दै गएको विषय बाहिर आए पनि श्रम स्वीकृति नै रोक्ने विषयमा अहिलेसम्म कुनै देशका नियोगमार्फत औपचारिक जानकारी नआएको बताउनुुभयो ।

गति लिन थालेको वैदेशिक श्रम बजारले पुनः कोरोनाको महामारी फैलिएको अवस्थामा भयाभय अवस्था आउन सक्ने भएकाले विदेशमा रहेका नेपालीलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।

मुलुकको आयात धानेको वैदेशिक रोजगारीमा आउने संकटले आम नेपालीको दैनिकी नै कष्टकर बन्ने निश्चित छ । अर्कोतिर बेरोजगारी बढ्दै जाने र यसबाट अर्को समस्या सिर्जना हुनेछ । सरकारले वैदेशिक रोजगारीसंगै मुलुकभित्रै रोजगारी सिर्जनाका लागि तत्काल प्रभावकारी कदम चाल्नुको विकल्प छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.