बिचार

गाँजाको धुँवाले बिथोलिएको ‘टाइम्स स्क्वायर’ भ्रमणको रोचकता (यात्रा अनुभूति)

अमेरिकाको न्यूयोर्क राज्य पुग्ने जो कोहीका लागि न्यूयोर्क सिटीमा रहेको टाइम्स स्क्वायर एकपटक पुग्नैपर्ने क्षेत्रका रुपमा सबैले वयान गर्दछन् । न्यूयोर्क आगमनको पहिला हप्ता नै टाइम्स स्क्वायर जाने अवसर प्राप्त भयो ।

त्यहाँ पुग्नुअघिसम्म सो स्थलका बारेमा मनमा अनेक जिज्ञासा उत्पन्न भएको थियो र कुनै नयाँ ठाउँमा जाँदा त्यस्तो जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै हो ।

टाइम्स स्क्वायरको गुणगान गाउँदै दर्जनौ गीत बनेका छन्, विश्वभरमै चर्चित रहेको यो स्थान पुरातात्विक, सांस्कृतिक र कलात्मक क्षेत्र हुनुपर्छ भनेर अनुमान गर्नु किमार्थ गलत थिएन । मेरो मनमा त्यस्तै कुराहरु थिए ।

सम्पदैसम्पदाले भरिएको, कला, संस्कृति, धार्मिक र प्राकृतिक विविधताले युक्त खुला संग्रहालय मानिने नेपालबाट गएका हामीजस्ताका लागि अमेरिकी कला, संस्कृति र इतिहास तथा सम्पदा अवलोकन गर्ने रहर जाग्नु पनि स्वाभाविक नै थियो । र विश्वमै चर्चित रहेको टाइम्स स्क्वायरका बारेमा त्यो सोच्नु पनि अस्वाभाविक थिएन ।

तर, टाइम्स स्क्वायर जब पुगियो अरुका लागि त्यो ठाउँको रौनकले आकर्षित गर्यो होला, तर मेरा लागि पीडादायी बन्यो । रेल स्टेशनबाट मूल सडक हुँदै गन्तव्यतिर जाँदै गर्दा नै मलाई असहज सुरु भयो । कला, संस्कृति, इतिहासका कुरा कता कता सुरुमै बुङ्बुङ्ती उडेको गाँजाको धुँवाले यति गाह्रो बनायो कि बताउनै सकिन्न ।

एक किसिमले भन्ने हो भने न्यूयोर्क सिटी घुमघामको क्रममा अत्यन्त नमीठो क्षण भनेको टाइम्स स्वायर रह्यो । पूर्व अनुमान र आकांक्षा विपरीतको दृश्यले उकुसमुकस नै भयो ।

गाँजा खुला भएको अमेरिकाका सडकहरुमा पनि गाँजा तान्दै हिंड्नेहरु नभेटिने होइनन् । समय निर्धारण गरेर निश्चित परिमाणमा गाँजा सेवन गर्न कानुनी मान्यता पाएको भनिए पनि टाइम्स स्क्वायर यसको विपरीत थियो ।

भ्रमणकर्ताहरु एकपछि अर्को गरेर गाँजाको ‘चेन स्मोक’ गरिरहेका थिए । अघि बढ्दै जाँदा जतिजति स्क्यायरको नजिक पुगिन्छ गाँजाको धुवाको मात्रा उतिउति बढ्दै जान्छ ।

गाँजा खुला गरिएको अमेरिकामा यसको सबभन्दा ठूलो बजार टाइम्स स्क्वायर रहेछ । अनि गाँजा नेपालतिरको जस्तो शुद्ध नभएर रसायन मिसाइएको हुन्छ भन्ने पनि जानकारीमा आयो ।

गाँजा विक्री गर्न बसेकाहरु ‘तिमीलाई यो चाहिन्छ’ भन्दै आउने दृश्यले हिप्पी युगका बारेमा पाका मानिसहरुले गरेको वर्णनको झझल्को आयो । टाइम्स स्क्वायरकको दृश्य शिवरात्रिको समयमा पशुपतिमा साधुहरुले गाँजाको धुँवा उडाएजस्तै देखिन्यो ।

जति स्क्यावरको नजिक पुगियो उति असहजता बढ्दै गयो । त्यहाँ सेवन गरिएको गाँजाको धुवाले म स्वयं लट्ठ हुन पुगे । लामै समय बिताउने उद्देश्यका साथ कुतुहलताका ठूलै भारी बोकेर पुगेको म बुङबुङ्ती उडेको गाँजगाँजाको धुवाले लट्ठ हुँदै उकुसमुकुसको अवस्थामा पुगें ।

फनफनी घुमाउने, वाकवाक आएजस्तो, दिसा–पिसाव आएजस्तो हुँदै लगभग बिरामीकै हालतमा पुगें । यस्तो भए पनि केही समय आफूलाई नियन्त्रणमा राख्दै छोरी र श्रीमतीसंग फोटो खिच्ने क्रम चलिरह्यो, जब म हुत्तिन थाले तब छोरी र श्रीमतीले के भयो भन्दै समातेपछि सबै कुरा बताइदिएँ ।

दुबैजनाले कहिलेकाहीं रक्सी खाने मान्छे यस्तो त नहुनुपर्ने भन्दै सहानुभूति दिन खोजे पनि मेरो हालत अझ नशालु बन्दै गयो र जतिसक्दो चाँडोे त्यहाँबाट फर्कन अनुरोध गरें । कतै गएर हातमुख धुन पाए हुन्थ्यो भन्ने भयो सोही कुरा बताए ।

तर, न्यूयोर्कको सबभन्दा ठूलो समस्या सार्वजनिक शौचालय नहुनु हो । सामान्य किसिमका रेस्टुरेन्टहरुमा पनि ग्राहकका लागि शौचालय हुँदैनन् । ठूलै र ब्राण्ड भएका रेष्टुरेन्ट जानुपर्छ त्यहाँ पनि केही खानेकुरा नकिनी शौचालय प्रयोग गर्न पाइँदैन ।

हामी नजिकैको म्याक डोनाल्ड गयौं र केही खानेकुरा खरीद गरेर एकछिन त्यही बस्यौं, हातमुख धोएर फर्कियौ । बाटोभरि राम्रोसंग हिंड्न सकिएन । भीडभाडकाबीच जसोतसो मुख्य स्थलबाट बाहिर निस्केर घुमिफर गर्दै केही ताजा हुने प्रयासमा समय बिताइरह्यौं ।

टाइम्स स्क्वायरमा खिचेका तस्वीरहरु हेर्दा मलाई मेरै अनुहारको भावले नै देखाउथ्यो कि मेरो हालत कस्तो भएको थियो भनेर । श्रीमतीले फेसबुकबाट साझा गरिन् । मेरा आफन्त र साथीभाइहरुले ‘बिरामी भएको हो ?’ र भन्ने प्रश्न गर्दा यसको उत्तर टाइम्स स्क्वायरमा भएको मेरो हविगतबारे बताउँदा हाँसोको पात्र पनि बन्न पुगें ।

टाइम्स स्क्वायर न्यूयोर्कको प्रमुख व्यापारिक, पर्यटक र मनोरञ्जनको केन्द्र हो । संसारको सबैभन्दा व्यस्त पैदल यात्री क्षेत्रहरूमध्ये एक टाइम्स स्क्वायरको ऐतिहासिक पक्षलाई नसमेटिक व्यक्तिगत अनुभव मात्र यहाँ उल्लेख गरेको छु ।

टाइम्स स्क्वायरमाा गाँजा सेवनकै लागि युरोप र अमेरिकाको छिमेकी देशहरुबाट मानिसहरु आउने गरेको पनि थाहा पाएँ । गाँजा विक्री बाहेक फोटो सेसन तथा अन्य मनोरञ्जनको व्यापार पनि यहाँ मनग्गै हुनेरहेछ ।

विश्वको सबैभन्दा धेरै भ्रमण गरिने  स्थलहरूमध्ये एक टाइम्स स्क्वायर पुग्दा खुलापनको चरम उपयोग, मापदण्ड विपरित खुला गाँजा सेवन र भौतिक पूर्वाधार बाहेक धेरै कुरामा ठमेलको झझल्को आउँछ ।

सबैका लागि सबै क्षेत्र, पक्ष र सन्दर्भ शारीरिक, मानसिक तथा अन्य रुपमा उपयोगी र ग्रहणीय तथा स्वीकार्य हुन सक्दैन भन्ने उदाहरण टाइम्स स्क्वायरको मेरो भ्रमणले पनि दिएको छ । अरुले सेवन गरेको गाँजाको धुँवाले मेरो जस्तो बनायो यो आफैंमा आश्चर्यलाग्दो बन्यो ।

विश्वकै सबैभन्दा बढी मानिसले भ्रमण गर्ने विश्वकै सबैभन्दा शक्तिशाली मुलुकको सबभन्दा समृद्ध शहर न्यूयोर्क बसाईका क्रममा टाइम्स स्क्वायर नपुगे भ्रमण अधुरो हुने धेरैको कथनले उत्पन्न कुतुहलता मेरा लागि नकारात्मकतामा परिणत भयो । सायद भ्रमण अघिको सोच र त्यहाँको वास्तविकताबीच अन्तरले पनि हो कि !

प्रस्तुत विचार केवल मेरो आफ्नो अनुभव मात्र हो । यो लेखनको उद्देश्य मनोरञ्जन र केही जानकारीका लागि मात्र हो । यसमा आधिकारिक र लिपिबद्ध भएका कुनै सन्दर्भ समावेश छैनन् । यो लेख पंक्तिकारको नितान्त व्यक्तिगत अनुभव हो । सबैजना सहमत हुनुपर्छ भन्ने जरुरी छैन ।

भव्य न्यूयोर्कको सभ्य शहरी व्यवस्थापन (यात्रा अनुभूति)

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.