अर्थ

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो ।

सामाजिक सुरक्षा कोष

कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा रु ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा रु १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ ।

कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

कोषमा हालसम्म ५२ अर्ब ६३ करोड योगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार सात सय ९९ श्रमिक सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ ।

बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार दुई सय २३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार दुई सय ४३, अनौपचारिक क्षेत्रका दुई सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ । कोषमा १८ हजार आठ सय १९ रोजगारदता आबद्ध छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.