अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्ली इलेक्सन सात दिनभित्र गर्न चेतावनी दिएको छ । शनिबार एन्फाले फिफा र एएफसीले एन्फालाई संयुक्त पत्र पठाउदै यस्तो चेतावनी दिएको हो ।
पत्रमा आफ्नो सदस्य संघहरुले कुनै पनि तेस्रो पक्षको हस्तक्षेपविना स्वतन्त्र रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न पाउने कुरालाई उल्लेख गरिएको छ । त्यस्तै एन्फाको निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने पत्रमा उल्लेख छ ।
‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ,’ पत्रमा भनिएको छ ।
फिफाबाट निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने, फिफा, एएफसी विकास कोषमा पहुँच र अन्य सदस्य संघहरूलाई एन्फासँग खेलकुद सम्पर्क कायम राख्न निषेध गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।
राखेपको निर्णयले चुनावी प्रक्रिया एकाएक रोकिएको मात्रै नभई एन्फालाई आफ्नो विधान परिवर्तन गर्न बाध्य बनाएको छ,’ पत्रमा भनिएको छ, ‘यो भनेको तेस्रो पक्षको हस्तक्षप हो । यसलाई समयमै समाधान नगरे गम्भीर परिणाम निम्तिन सक्नेछ ।’
स्वीकृतिविना नै निर्वाचन गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चैत १२ गते एन्फालाई ३ महिनासम्मका लागि निलम्बन गरेको थियो ।
पत्रमा सात दिनको समयसीमामा राखेपको निलम्बन फुकुवा हुनुपर्ने र जहाँबाट चुनाव स्थगन भएको थियो, त्यहीँबाट पक्रिया पुनः सुचारु हुनुपर्ने बताइएको छ । यदी यसो नहुने हो भने एन्फाको विषय फिफा काउन्सिलमा पेश गरिने र तत्काल निलम्बनको प्रक्रिया अगाडि बढाइने पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ पत्र :







प्रतिक्रिया राख्नुहोस्