बिचार

ज्योतिषको भविष्यवाणी र देउवाको भाग्य…

– यादब देवकोटा

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउने र त्यो सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको हारगुहारले २०७४ सालको संघीय संसदको निर्वाचनको समयको याद गर्दा आफ्नो स्वार्थका लागि नेताहरु कतिसम्म गिर्न सक्छन् भन्ने सहजै अनुमान लाग्छ । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले “निर्वाचन पश्चात आफू नै प्रधानमन्त्री हुने दावी गर्दै ज्योतिषले सातपटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको” बताउँदा एमाले र माओवादी केन्द्रका अध्यक्ष केपी ओली र प्रचण्डले “देउवा नै नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने र यसपछि कांग्रेस कहिल्यै सरकारको नेतृत्वमा नपुग्ने” घोषणा गरेका थिए ।

अहिले तिनै देउवालाई प्रधानमन्त्री बन्न प्रचण्डले हारगहार गरिरहेका छन् भने ओली र देउवाबीचको भित्री साँठगाठ बुझिनसक्नु छ । देउवा कसैले भन्दैमा प्रधानमन्त्री भैहाल्ने मुडमा हुनुहुन्न । शुक्रबार तीन दलको बैठक राखेर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्दा माओवादी र जनता समाजवादी पार्टीले मुखले ठिक्क कामले दिक्क बनाए ।

तर, देउवा निर्वाचनमा जानुपर्नेअवस्था आउने बताउँदै कार्यकर्तालाई तयार रहन निर्देशन दिइरहनुभएको छ । सांसद किनबेचदेखि अनेक काण्डका नाइके भनेर आरोपितत देउवा अहिले प्रधानमन्त्री बन्न इच्छुक देखिनुभएको छैन तापनि सबैले एकसाथ समर्थन दिए ज्योतिषले गरेको भविष्यवाणी मिल्ने थियो तर, साथ दिनेहरु भित्रभित्रै आफ्नै खिचडी पकाइरहेका छन् ।

एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालको पद र शक्तिको भोकले गर्दा निम्त्याएको राजनीतिक संकटले देउवालाई हिरो बनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दुबै पदबाट हटाउन देशी–विदेशी शक्तिको आडमा जुन किसिमको खेल खेलियो त्यसको परिणाम संसद विघटन र त्यसपछि एमाले र माओवादीको एकता भंग हुन पुग्यो । संसद विघटनको निर्णय असंवैधानिक ठह¥याएको सर्वोच्च अदालतले एमाले र माओवादीको एकता पनि विघटन गरिदियो । दुई पार्टी एक भएर बनेको पार्टीको नामका विषयमा परेको मुद्दामा फैसला गर्दै सर्वोच्चले सो नामको पार्टी पहिले नै अरु कसैको नाममा दर्ता भैसकेको भन्दै एमाले र माओवादी केन्द्र पूर्व अवस्थामा फर्किएको र एकता गर्ने भए नयाँ नाममा गर्नु भन्ने फैसला गरेपछि अहिले राजनीतिक रन्थमोल चुलिएको छ ।

प्रधानमन्त्री केपी ओलीको राजीनामा हरेक दिन मागिएको छ । उहाँलाई पदबाट हटाएर नयाँ सरकार बनाउने आधिकारिक तयारी कसैले गर्न सकेका छैनन् तर उहाँको राजीनामा माग गर्नेहरु सबै छन् । प्रधानमन्त्रीलाई राजीनामा गराएर कामचलाउ सरकार बनाउने अनि देशको तमाम काममा अबरोध सिर्जना गर्ने रणनीति अहिले छ तर प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव ल्याऊ वा दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताउँदै आउनुभएको छ ।

माओवादी केन्द्रको समर्थन व्यवहारिक रुपमा नरहे पनि वैधानिक रुपमा कायमै रहेकाले सरकार बहुमतमा छ । तसर्थ यो सरकारलाई कुनै पनि काम गर्न कानुनी बाधा छैन । आफ्नो निर्णय उल्टिएपछि नैतिकताका आधारमा राजीनामा दिनु प्रधानमन्त्रीको स्वविवेक हो तर नयाँ सरकारको खाका नबन्दै राजीनामा दिंदा त्यसले राजनीतिक अस्थिरतादेखि शान्ति सुरक्षा, विकास निर्माणमा ठूलो असर पर्ने निश्चित छ । प्रधानमन्त्रीको राजीनामा माग्नेहरु अहिले पनि नयाँ सरकारको खाका बनाउन सकिरहेका छैनन् । कसको नेतृत्वमा सरकार बनाउने र कसको कस्तो माग पूरा गर्ने भन्ने फोहरी खेल चलिरहेको छ ।

नेकपाका एकता टुटेपछि र व्यवारिक रुपमा ओली सरकार अल्पमतमा परेको भनिएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रधानमन्त्री बन्ने चाहनामै नरहेको जसरी मौन हुनुहुन्छ । आफूलाई प्रधानमन्त्रीमा अघि सार्दा भोलि समर्थन मिलेन भने लज्जाका विषय हुने बुझ्नुभएका देउवाको मौनतालाई भंग गर्ने गरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र सक्रिय हुनुभएको छ । उहाँले देउवा निकट नेताहरुसंग देउवालाई प्रधानमन्त्री बन्न मनाउन आग्रह गरिरहनुभएको छ ।

अहिले प्रधानमन्त्री बन्ने लोभ सबैलाई छ तर आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा जनतामा राम्रो प्रभाव नपर्ने बुझेर प्रधानमन्त्रीका आकांक्षीहरु र्याल चुहाएर चुपचाप छन् । उनीहरु नयाँ सरकार बनाउनुपर्छ त भन्छन् तर सरकार बनाउने आधिकारिक प्रयास गर्दैनन् ।

नयाँ सरकार बन्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३२ सांसद मिले पुग्छ । तर जसपाले कसलाई समर्थन गर्ने भन्ने आधिकारिक निर्णय गरिसकेको छैन । रामचन्द्र पौडेलले भने देउवा प्रधानमन्त्री बन्न तयार भए जसपाको समर्थन लिने जिम्मा आफ्नो भन्दै देउवा निकट नेताहरुलाई मनाउन थाल्नुभएको छ । शनिबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय गरेकोमा कांग्रेसलाई धन्यवाद दिनुभयो । तर, जसपाका राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरु ओलीकै पक्षमा रहेको अप्रत्यक्ष रुपमा देखिन्छ ।

अहिले सबैको एउटै चाहना ओलीलाई सरकारबाट हटाउने रहेको छ । रामचन्द्र पौडेल देउवालाई प्रधानमन्त्री बनाउन पाए पार्टीको आसन्न महाधिवेशनबाट सभापति बन्ने ढोका खुला हुने आशमा रहेर देउवालाई प्रधानमन्त्री बन्न मनाउने प्रयासमा हुनुहुन्छ । देउवा यतिबेला सरकारको नेतृत्वमा पुग्न कुनै हतार नगरी माओवादीका अध्यक्षको प्रस्तावलाई लत्याउँदै आउनुभएको छ । उहाँले पहिला समर्थन फिर्ता लिएर बहुमत सांसदको संख्या पु¥याए आफू प्रधानमन्त्रीका लागि तयार हुने बताइरहनुभएको छ ।

तर, कांग्रेसले औपचारिक निर्णय गरिसक्दा पनि माओवादी र जसपाले स्पष्ट रुपमा हामी समर्थन गर्छौं भन्न सकिरहेका छैनन् । यसै भएर देउवा सरकारमा जानुभन्दा ताजा निर्वाचनमा जानु कांग्रेस र आफ्ना लागि पनि लाभदायी रहने निष्कर्षमा पुग्नुभएको छ । तर कांग्रेसभित्र पनि कायमै रहेको गुटबन्दीले कसलाई कहाँ पुर्याउने हो पत्ता छैन । यद्यपि ज्योतिषको भविष्यवाणी भने सत्यको निकट रहेको छ ।

सम्बन्धित खबर

Back to top button