राजनीति

यसअघि एमालेविरुद्ध गठबन्धन गरिएकाले अस्थिरता बढ्यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि एमालेविरुद्ध गठबन्धन गरिएकाले अस्थिरता बढ्नुका साथै राष्ट्रियता झनै कमजोर भएको बताउँदै अब त्यस्तो अवस्थाको अन्त्य हुने दावी गर्नुभएको छ ।

गत निर्वाचनमा कसैको बहुमत नआउँदा अस्थिरता सिर्जना भएको र अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गएको पनि अध्यक्ष ओलीले बताउनुभएको छ ।

बिहिबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उहाँले अघिल्लो गठबन्धनकै कारण देशमा विकास निर्माण ठप्प भएको, अर्थतन्त्र धराशायी बनेको, भ्रष्टाचार मौलाएकोजस्ता आरोप पनि लगाउनुभयो।

दुईपटक प्रधानन्त्री बनिसक्नुभएका ओलीले अहिले एमालेसहितको नयाँ गठबन्धन सरकार निर्माण भएकाले विकास निर्माण चलायमान हुने, अर्थतन्त्रमा सुधार हुँदै जाने र भ्रष्टाचारजस्ता बेथिति नियन्त्रण हुँदै जाने पनि बताउनुभयो।

त्यस क्रममा उहाँले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताउनुभएको छ ।

आफु र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

करिब रु तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुग्नुभएको थियो । हेलिकप्टरमार्फत त्यहाँ पुग्नुभएका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गर्नुभयो ।

यस्तै उहाँले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान पनि गर्नुभएको थियो ।

पूर्व प्रधानमन्त्री ओलीसँगै आउनुभएको उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि वर्तमान सरकारले विकास निर्माणसहित देशको हितलाई केन्द्रमा राखेर काम गर्न सुरु गरेको बताउनुभयो।

नयाँ गठबन्धन सरकार बनेपछि विकास निर्माणको कामले गति लिन सुरु गरेको र जनतामा सुशासनको प्रत्याभूति हुन थालेको मन्त्री महासेठले दाबी गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीसँगै रक्षामन्त्री हरिप्रसाद उप्रेती र पार्टी सचिव योगेशकुमार भट्टराई समेत ताप्लेजुङमा पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.