क्रिकेटखेल

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित 

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको हो ।

यद्यपि पाँच खेलको सिरिज भने वेस्ट इन्डिजले ३-२ ले जित्न सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि एलिक एथानाजेले ४२ रनमा अविजित रहे भने रोस्टन चेसले ३३ रन बनाए । त्यस्तै जोनसन चार्ल्स २४ रन जोड्दा, म्याथ्फु फर्डले २३, कदिम एलियन र मार्क दयालले समान ११-११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३-३ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए । १७३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनको अर्धशतकीय पारी खेले भने आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ्ग खेले । यी दुईले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा अविजित रहे भने ओपनर कुशल भुर्तेलले १३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । वेस्ट इन्डिज ‘ए’का ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको थियो । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको थियो । आजको खेलमा नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ  ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.