बिचार

लकडाउनमा सबै घरभित्रै- परिवारको व्यवस्थापन र सुरक्षामा महिलाको भूमिका

आज विश्व कोरोना भाइरसको महामारीबाट ग्रस्त छ र नेपाल पनि ‘लक डाउन’मा छ, सबै मानिस घरभित्रै बसिरहेका छन् । परिवारका सबै सदस्य घरभित्रै रहँदा यतिबेला कामकाजीदेखि गृहणीसम्मको व्यस्तता अरु बढेको छ, उनीहरुको पारिवारिक जिम्मेवारीमा कुशल व्यवस्थापन क्षमता देखिएको छ ।

महिलाहरुले आफूलाई जसरी सक्रिय बनाइरहेका छन् त्यो एउटी नारीमा रहेको क्षमता संकटको यो घडीमा पूर्णतः प्रकट भएको छ । हरेक घरमा शान्ति छ, सुव्यवस्था छ । घरकी गृहणी (आमा, पत्नी)को भूमिका अब्बल छ । केही बढी पढेलेखेका पति वा छोराछोरीभन्दा कम पढेलेखेका वा नपढेका तर व्यवहारले खारिएका महिलाले घरलाई कसरी सुरक्षित पारिरहेका छन् यो हरेक घरमा देखिएकै छ ।

महिलामा यो शक्ति र ज्ञान प्रकृतिले नै दिएको हो । किनभने नारी नै ज्ञान, शक्ति, सामथ्र्यको स्रोत हो भन्ने त शास्त्रले प्रमाणित गरिदिएको छ, यसमा प्रश्न उठाउनेहरुलाई दानवसंगको युद्धमा देवताहरु पराजित भएपछि देवी दुर्गाको हारगुहार गर्न पुगेका देवासुर संग्राम, महिसासुर बध गर्ने नारी पात्रको कल्पना त्यो शक्तिको पहिचान थियो । त्यस्तै धन चाहनेहरुले लक्ष्मी पुकार्छन भने विद्या चाहनेले सरस्वती । यो अहिले पनि चलिरहेको छ । तसर्थ भन्नैपर्छ कि नारी जन्मजात, शक्ति, विद्या र ऐश्वर्य बोकेर जन्मेकी हुन्छे । त्यसैले त आज पनि नारीलाई विद्या, धन र शक्तिको स्रोत मानेर आराधना गर्ने धार्मिक–सांस्कृतिक मान्यता छ ।

शिक्षा–विद्या र दीक्षापछिको धन र शक्तिले मात्र हरेक मानिसको जीवन सार्थक बन्दछ । तर बुझ्नैपर्ने कुरा के हो भने यी सबै सबै शब्दस्त्रीवाचक (नारी) शब्द हुन् । शिक्षा–विद्या र दीक्षा प्राप्त भएपछि मात्र मानिसको बुद्धि तिखारिन्छ र उ बुद्धिमान, बुद्धिबहादुर वा विद्वान कहलिन्छ र विवेक प्रयोग गर्नसक्ने बन्दछ । त्यसैले शिक्षा त्यसपछि विद्या अनि दीक्षा हरेक मानिसको जीवनको अपरिहार्य पक्ष हो । अर्थात् जीवनका महत्वपूर्ण तीन पक्ष शिक्षा–विद्या र दीक्षापछि मात्र मानिस पूर्ण मानिस जस्तो बन्दछ । यो सब एउटी नारीबाट मात्र सम्भव छ ।

मानिसको जीवन नारीबाट सुरु हुन्छ । जन्मन्छ आमाको कोखबाट, हुर्कन्छ आमाको स्तनपान गरेर, सुरक्षित हुन्छ आमाको न्यानो काखमा र भविष्य बनाउँछ आमाको असल मार्गनिर्देशनमा । जीवनको सम्पूर्ण पक्षमा नारीे अहं भूमिका हुन्छ । नारीबाट प्राप्त ज्ञान, सीप, उर्जापछि मात्र मानिस पुरुष (पूर्ण) बन्दछ । अर्थात् शिक्षा–विद्या र दीक्षापछि मात्र मानिस बुद्धिमान वा विवेकवान बन्दछन् ।

विचारणीय कुरा के छ भने– शिक्षा एउटी नारीको नाम, दीक्षा नारीको नाम, विद्या पनि नारीको नाम । यी तीनवटा कुरा प्राप्त भएपछि मात्र उसमा पुरुषवाचक विशेषण जोडिन्छ– बुद्धिमान ! वा विवेकवान !! यी सबै कुरा प्राप्त व्यक्ति चाहे नारी होस् या पुरुष शक्तिशाली ठहरिन्छ । शक्तिशालीको अर्थ मुडकी बजारेर ढुंगा फोर्रे भौतिक शक्ति हैन, मस्तिष्कको त्यो शक्ति जुन शक्तिले उसलाई समाजमा स्थापित गराउँछ, समाजमा उसको बेग्लै हैसियत बन्छ आर्थिक–बौद्धिक रुपमा र समाजलाई उसले केही दिनसक्छ ।

यी सबैका लागि सर्वप्रथम आराधना नारीकै गर्नुपर्छ । त्यसैले वैदिक सनातनी धर्म–परम्परामा शिक्षाको स्रोत, धनको स्रोत र शक्तिको स्रोत नारी शक्तिलाई मानिएको छ । सरस्वती, महालक्ष्मी र महाकाली नारी हुन् र यिनकै आराधना गरेर देवता (पुरुष)हरुले आफ्नो अस्तित्व बचाएका छन् । साम्राज्य जोगाएका छन् ।

आज नेपालका दुर्गम र ग्रामीण क्षेत्रका विद्यालयहरुको सम्पूर्ण जिम्मेवारी महिलाले बोकेका छन् त्यो विद्यालय सबभन्दा उत्कृष्ट ठहरिएको छ । यो कसरी सम्भव भयो ? जसरी अहिले कोरोनाको कहरकाबीच महिलाले घर–परिवारलाई व्यवस्थित र सुरक्षित बनाउन भूमिका खेलिरहेका छन्, जुन ज्ञान उनीहरुलाई कुनै फेसबुकको स्टाटसले दिएको हैन, कुनै मिडियाले पढाएको पनि हैन, उनीहरुमा वंशाणुगत रुपमा संस्कारित हुँदैआएको जुन अद्भूत क्षमता छ त्यसैको उपज हो । तसर्थ भन्नैपर्छ नारी शक्ति महान !

संकटमा व्यवस्थापन गर्ने क्षमता नारीले राख्दछन् भन्ने उदाहरण अनेक छन् । अहिले कोरोनाको संकट छ, लक डाउनको स्थिति छ यस्तोमा कसरी परिवारलाई सुरक्षित र व्यवस्थित राख्ने भन्ने क्षमता हरेक घरमा नारीले नै देखाइरहेकी छन् । यसैलाई भनिन्छ प्रकृतिप्रदत्त क्षमता, जो पुर्खाबाट हस्तान्तरण हुँदैआएको छ, जुन किताबी ज्ञानले पाइँदैन । यस्तै ज्ञान पुरुषहरुले पनि नपाएका हैनन् तर उनीहरु उसलाई व्यवहारमा उतार्न चाहँदैनन् । उनीहरुमा दम्भ छ, हैकमवादी प्रवृत्ति छ, समाज विकासको यो नै सबभन्दा ठूलो अबरोध हो ।

(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)

सम्बन्धित खबर

Back to top button