जन सरोकार

सबैले मास्क लगाएर ताने सेतो मच्छेन्द्रनाथको रथ (फोटोहरुसहित)

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गराएसंगै सुरु भएको वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सुरु गरिएको छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो ।

सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको थियो ।

रथयात्राका लागि दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । वैशाख २ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button