राजधानी उपत्यकामा निषेधाज्ञा लगाउने तयारी, गृहमन्त्रालयको छलफलपछि घोषणा हुने

कोरोना संक्रमण तीब्रगतिमा बढेपछि राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले एक दर्जन बढी क्षेत्रमा निषेधाज्ञा लगाउने तयारी गरेका छन् । यसै विषयमा यस विषयमा सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।
आइतबार बसेको सीसीएमसीको बैठकले उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो । निषेधाज्ञा बिहिबारदेखि लागू हुने गरी लगाइने बताइएको छ ।
बैठकपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले तीनवटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवा सञ्चालनमा रोक लगाइने विषयमा छलफल भएको बताउँदै सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको जानकारी दिनुभयो ।
तीनै जिल्लाका प्रशासनबीचको छलफलपछि अहिले गृहमन्त्रालयसँग निषेधाज्ञाको मोडालिटी र समयावधिबारे परामर्श भइरहेको र केही बेरपछि तीनवटै प्रशासनले संयुक्त धारणा सार्वजनिक हुने बताइएको छ ।