बिचार

नेताज्यूहरु ! अब छोड्नुस- तपाईले संघर्ष र त्यागको सावा ब्याज खाइसक्नुभो

यादब देवकोटा

राजनीतिमा पुस्तान्तरण भए मात्र देशले विकास गर्छ । आन्दोलन, संघर्ष र त्यागको नाममा आजीवन पद ओगटिरहने प्रवृत्ति रहँदासम्म देशमा कुनै परिवर्तन हुँदैन केवल सत्ताका पात्रको अदलीबदली बाहेक केही भएको छैन नेपालमा ।

२०४६ सालको जनआन्दोलनपछि गणतन्त्रसम्म आइपुग्दा उनै अनुहार, उनै पात्र, पटकपटक सत्ताको नेतृत्वमा पुगिरहेको छ, देश समृद्ध हुनुको साटो कगाल हुँदैछ, कागजको विकास देखाएर जनता उल्लु बनाउने बाहेक केही काम भएको छैन । २०४८ सालदेखि लगातार उच्च पदमा पुगेकाहरुलाई अझै कति पद चाहिएको अनि पद पाएपछि स्थिरता दिन नसक्ने प्रवत्ति देख्दा खराब व्यवस्था हैन व्यक्ति नै हो भन्ने स्पष्ट भएको छ ।

अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झण्डै दुई तिहाईको सरकार त छ तर यो सरकार जनमतले बलियो देखिए पनि आन्तरिक रुपमा निकै कमजोर देखिएको छ । पार्टीका शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओलीलाई हटाएर आफू वाा आफ्ना साथीलाई बालुवाटारमा डेरा सार्ने तारतम्य मिलाउन थालेका छन् । उनीहरु सरकारले पार्टीको घोषणापत्र र जनअपेक्षा अनुसार काम गरेन भन्ने आरोप लगाइरहेका छन् । यो सत्य हो तर के ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा झलनाथ खनाल पुग्दैमा देशमा स्थिति सुध्रन्छ त ? यी तिनैजनाको शासन पनि जनताले भोगेकै हो । कोही पनि नेताले देशको भावी प्रधानमन्त्री अब ‘फलानो’ भनेर जनताले आश गरेका युवा पुस्ताका नेताको नाम उच्चारण नै गर्दैनन् ।

नेकपाभित्र प्रशस्त सम्भावना भएका र काम गरेर आफ्नो क्षमता देखाएका युवा पंक्तिको कमी छैन, तर उनीहरुलाई देशको भावी नेतृत्वकर्ता भनेर कसैले पनि अघि सारेका छैनन् । उनीहरु आआफू नै प्रधानमन्त्री बन्ने धुनमा हुन्छन् । यही प्रवृत्तिले गर्दा जनतामा स्थापित राजनीतिक दलका शीर्षस्थ नेताहरुप्रति वितृष्णा जनाएको छ । नेताहरुले जनताको भावनाको कदर पटक्कै गर्न सकेका छैनन् । उनीहरु लोकतन्त्रको नाममा आफ्नो हालीमुहाली चलाइरहन चाहन्छन् ।

नेताहरु पद लिन जति उत्सुक छन् देश बनाउने मामलामा उत्तिकै कमजोर छन् । हुन त निर्वाचन प्रचारका बेला नेताहरुले आफूले गरेको विकासको नालीबेली लगाएको सुन्दा देशमा ठूलै विकास भएछ भन्ने लाग्छ, तर यथार्थमा त्यो सब भ्रम सावित हुन्छ । विकासको कुरा गर्ने हो भने सरकारले कति विकास गर्यो, कति जनतालाई राहत दियो अनि देशको आर्थिक समृद्धिमा कति टेवा पुर्यायो र देशको सुदूर भविष्यसम्म सकारात्मक असर पर्ने के कति काम भयो भन्ने लेखाजोखा गर्दा सबै छर्लङ्ग हुन्छ । सरकार चलिरहन्छ, विकास निर्माणका आयोजनाहरु पम्परागत रुपमा घिस्रदै घिस्रदै चलिरहेका छन् ।

राजनीतिको दुई आयाम हुन्छ । एउटा आन्दोलन वा क्रान्ति, अर्को शान्ति अर्थात् समृद्धि । नेपालमा पटकपटक आन्दोलन भयो त्यो आन्दोलनको नेतृत्व अहिलेका शीर्ष भनिएका नेताहरुबाटै भएको हो । यो गर्वलायक पक्ष हो । तर क्रान्तिको नेतृत्व गरेको, जेल बसेको, कुटाई खाएको भन्दै आजीवन मन्त्री–प्रधानमन्त्री–सांसद आफू मात्रै बनिरहनुपर्ने भन्ने मान्यताले उनीहरुको राजनीतिक चेतना र देशभक्तिको भावनामा ठेस पुर्याउँछ । उनीहरुको सत्तारोहणको उपलब्धि उनीहरुले जतिसुकै बखान गरे पनि जनताले देखेकै छन् ।

क्रान्तिनायकहरुलाई जनताले पटकपटक पुरस्कृत गरेका छन् । तर, उनीहरुले जनताको त्यो पुरस्कारको सम्मान गर्न सकेनन् । एकले अर्कोलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने काम मात्रै गरिरहे । अर्थात् आरोप–प्रत्यारोपमा उत्रिए । उनीहरुले भट्याउने देशको समृद्धिको नारा केवल नारा मात्रै बनिरहेको छ ।

अहिले सत्ता राजनीतिक परिदृश्यले उजागर गरेको सत्य के हो भने नेताहरुलाई कुर्सी भए पुग्छ र यसका लागि उनीहर जे पनि गर्न तयार हुन्छन् । जनमतको कुनै सम्मान छैन । विगतमा मिलिजुली सरकारका कारण अस्थिरता भएको भन्नेहरुले झण्डै दुई तिहाई मत पाउँदा पनि स्थिरता दिन नसक्नुको कारण के हो ? यहाँ मतले हैन मतिले अस्थिरता उत्पन्न भएको रहेछ भन्ने पछिल्लो घटनाले उजागर गरिदिएको छ । आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल बुझेका प्रधानमन्त्री ओलीले पार्टी फुटाउने सजिलो हुने गरी अध्यादेश नै जारी गरिदिए । योभन्दा घृणित सत्ताखेल अरु के हुन्छ ?

देशबासी कोरोनाको कहरमा कष्टकर जीवन बाँचिरहेका बेला सत्तारुढ दलका नेताहरुलाई सत्ताकै ध्याउन्न हुन्छ भने यो दलले देश विकास गर्छ भनेर कसरी पत्याउने ? ओली सरकारले काम गरेन भने माधव सरकार वा प्रचण्ड सरकार वा खनाल सरकारले गर्ने ग्यारेन्टी के ? गर्थे भने उनीहरुका पालामा के के गरे ? हिसाब किताब चाहियो । हैन भने सरकार परिवर्तन नै गर्ने भए अहिलेको शीर्ष नेताहरु पार्टीको अभिभावक बनेर युवा पुस्तालाई सत्ताको नेतृत्व सुम्पिदिने हिम्मत गर्नुपर्छ । किनभने नेताज्यूहरुले गर्नुभएको आन्दोलन, संघर्ष, त्याग र बलिदानको सावाँ र चक्रवर्ती ब्याज खाइसक्नुभएको छ । अब विश्राम गर्दा हुन्छ, नभए भोलि ओकल्नुपर्ला ।

सम्बन्धित खबर

Back to top button