पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ ।

एघार स्पानसहित तीन यस ६३ दशमलव पाँच मिटर लामो सो पुलेको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’ जीर्ण भएर पाँच ईन्च तल सरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ ।
बागमती नगरपालिका–११ निवासी मिलन श्रेष्ठले मुख्य राजमार्गमा रहेको पुलको स्पान भाँसिन थाले पनि मर्मतका लागि सरोकारवाला निकायको ध्यान जाननसकेको बताउनुभयो ।
‘‘दैनिक दर्जनौ सवारी साधन यही पुल ओहोरदोहोर गर्छन् । पुल हल्लिएर सानो सवारी चलाउने हामीजस्ता चालकलाई त झनै जोखिम छ । यस विषयमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई जानकारी गराइए पनि मर्मतका लागि कुनै पहल भएको छैन”, श्रेष्ठले गुनासो गर्नुभयो ।
यही सडक भएर दिनहुँ सवारी चलाउने चालक केशव थापाले पनि पुलको एउटा स्पान नै तल सरेकाले दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
सडक डिभिजन कार्यालय सर्लाही–रौतहटका प्रमुख दिपेन्द्र पाण्डेयले भने पुल जीर्ण भएको विषयमा सडक डिभिजन कार्यालयबाट अनुगमन गरी अवस्थाबारे जानकारी लिइएको बताउनुभयो । पूर्वमा कमला नदीदेखि बागमती नदीसम्मको चार लेन सडकमा पर्ने पुल निर्माणका लागि नयाँ योजना बनिरहेकाले अहिले मर्मतलगायतका काम नगरिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्