राजनीति

सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर भएन : देउवा

सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न र नतिजा नआउँदासम्म होल्डिङ सेन्टरमा राख्न माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ । सभापति देउवाले शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न सरकारसँग माग गर्नुभयो ।

देउवाका आलोचक नेताको साझा बैठक

परीक्षणका क्रममा कोरोना सङ्क्रमितलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई सुझाव दिनुभयो ।

वर्तमान सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउँदै सभापति देउवाले सरकारको लापरवाहीका कारण कोरोना फैलिइरहेको विचार राख्नुभयो । काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा बढेको सभापति देउवाले सुनाउनुभयो । सङ्क्रमितहरु परीक्षण नै नगरी गाउँतिर गएका कारण थप भयावह स्थिति आउने प्रति उहाँले सचेत गराउनुभयो ।

निषेधाज्ञाका अवधिमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक काम गर्न सभापति देउवाले सरकारलाई सुझाव दिनुभयो । “वर्तमान सरकारको ध्यान उद्घाटन, भीडभाड र तडकभडकमा बढी केन्द्रित भएको छ, सङ्क्रमण रोक्न सरकारले कुनै ठोस काम गर्न नसक्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको हो ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले स्वास्थ्य, सुरक्षा, सरसफाइकर्मीलगायतलाई जोखिममा काम गरेको भत्ताको सुनिश्चिता गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो । कोरोनाविरूद्धको खोप आपूर्तिको सुनिश्चितता गर्नुपर्ने तथा विदेश जानेका हकमा पिसिआर परीक्षण गर्ने स्वास्थ्य संस्था बढीभन्दा बढी तोक्नुपर्ने उहाँको भनाइ थियो ।

नेता देउवाले कोरोना महामारीबाट प्रभावित सबैलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिँदै व्यवसायीका लागि राहत तथा सहयोगको प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो ।

सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्धको सचेतना अभियानमा खटिन निर्देशन दिँदै उहाँले अहिलेको महामारीको मिलेर सामना गर्न पार्टी पङ्क्ति सबैलाई आग्रह गर्नुभयो । कोरोना सङ्क्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न उहाँले देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो । अमेरिकाले नेपाललाई खोप सहयोग गर्न लागेकामा स्वागत गर्दै सभापति देउवाले भारत र चीनले खोप उपलब्ध गराएकामा धन्यवाद पनि दिनुभयो ।

मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्नका लागि अनुगमन संयन्त्र बलियो बनाउन सभापति देउवाले माग गर्नुभयो । समस्यामा परेकाहरुका लागि सहयोग अभियान चलाउन पनि उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.