मनाङमा यार्सागुम्बा सङ्कलन सुरु
औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवद्र्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ । जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मुख्य आयस्रोतको रूपमा रहेको औषधीय जडीबुटी यार्सागुम्बा आजदेखि सङ्कलन सुरु भएको छ ।
औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा हुने यार्सागुम्बा सङ्कलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँका धेरै खर्कमा यार्सागुम्बा पाइने भए पनि सङ्कलन भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन थालिएको छ ।
“यार्सा पाइने नजिकको खर्कबाट सङ्कलन सुरु भएको छ । पहिलाको भन्दा उत्पादनमा ह्रास आउदै गएको सङ्कलनकर्ताले जनाएका छन्”, उहाँले भन्नुभयो, “यो समस्याको रूपमा विकास भएको देखिँदै गएको छ ।”
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण व्यवस्थापन निर्देशिका २०५६ हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटीको सङ्कलन अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो कार्यक्षेत्रभित्र सङ्कलन पूर्जी दिने गरेको छ ।
जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रभित्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलन अनुमति दिने र जिल्ला बाहिरका नेपाली नागरिकलाई यार्सागुम्बा सङ्कलन सम्बन्धित संरक्षण व्यवस्थापन समितिमा निर्भर रहने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्दछन् । नार्पाभूमिका खर्कमा जिल्लाभित्रका नागरिकलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइन्छ भने बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिने प्रावधान छैन ।
उहाँले भन्नुभयो, “भौगोलिक रूपमा नै विकट भएकाले सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमिका खर्कमा यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छैन । अन्य स्थानीय तहका खर्क खाङ्सार, हुलाकी ओडार र पिसाङलगायतका जिल्लाका सबै खर्कमा यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।” स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ । यार्सागुम्बा सङ्कलनका निम्ति नाम्ग्या खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइने प्रावधान निर्धारण गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो । उहाँले पालिका, एक्यापलगायत सम्बन्धित सरोकारवालाको बैठकबाट निर्णय भएबमोजिम सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको जानकारी दिनुभयो ।
सुरुआतमा नाम्ग्या र नार्पाभूमि गाउँपालिका–२ हुलाकी ओडार खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय गरिएको छ । मनाङमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइने भएको उहाँले बताउनुभयो । मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त यामका रूपमा लिइन्छ ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गरिने भए पनि बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएका छौँ । स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।” नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताउनुभयो ।
नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ ।
यार्सागुम्बा सङ्कलनकर्ताले सङ्कलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई नाम्ग्या खर्कमा यार्सा सङ्कलनका लागि जिल्लाका भएमा प्रतिव्यक्ति रु १२ हजार र जिल्ला बाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति रु १७ हजारका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ ।
जिल्लाका अन्य खर्कमा यार्सा सङ्कलनका लागि भने फरक दस्तुर लिने निर्णय हुने गरेको समितिले जनाएको छ । संरक्षण समितिका पदाधिकारी सुरक्षाका सवालमा अग्रपङ्क्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।
पुर्जी काटेर सङ्कलन गर्न अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई समितिले सहज रूपमा खर्कतर्फ जान अनुमति दिनेछ ।
चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।
मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फु लेक, मनाङ लेक, आइसलेक, स्याक्र्यु लेक, थोराङ्ला लेकलगायतका लेकमा यार्सागुम्बा बढी पाइने स्थान हुन् ।
यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिनेछ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य गरिन्छ ।





प्रतिक्रिया राख्नुहोस्