परम्परागत ज्ञान-सीप र संस्कृति आदानप्रदान गर्ने साझा मञ्च : ‘गाउँ पर्यटन मार्ट’
‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ती । क्षण क्षणमा प्रकृतिले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपम स्थल । कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य ।
काष्टकलाका परम्परागतसहित र केही आधुनिकता घरका बीचमा खाली गल्ली । ‘पहाडकी रानी’ उपमाले परिचित यही गल्लिामा विहीबार मुस्ताङको स्याङखोला थकाली सामुदायिक घरवास ‘होमस्टे’का सञ्चालकद्वय रुपना थकाली र आसिका थकालीलाई आफ्नो गाउँको बारेमा जानकारी गराउन भ्याइनभ्याई थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीको सहआयोजनामा आजदेखि सुरु ‘गाउँ पर्यटन मार्ट २०८३’मा उहाँहरु जस्तै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी २९ ‘होमस्टे’ का सञ्चालक आफ्ना ‘होमस्टे’को बखान गर्न दिनैभर व्यस्त देखिन्थे ।
परम्परागत बाजागाजा, परम्परागत पोशाकमा सजिएका युवा युवतीसँगै, झाँकी, र्यालीसँगै मौलिकतासमेतले सिङ्गारिएको यहाँको रोमाञ्चक परिवेशमा हिमालदेखि पहाड हुँदै तराईसम्मका ‘होमस्टे’को एक साथ परिसम्वाद गरिएको थियो ।
गाउँ पर्यटनको प्रवद्र्धन र विकासको लक्ष्यका साथ आयोजना गरिएको मार्टका सहभागीले आफ्नो गाउँको चर्चा गर्दै पर्यटकलाई आफ्नो ठाउँमा आएर त्यहाँको वास्तविक प्रकृति र संस्कृतिलाई नियाल्दै न्यानो आतिथ्यताको प्रत्यक्ष अनुभूति लिन आग्रह गरेका थिए ।
स्याङखोला थकाली सामुदायिक ‘होमस्टे’का सञ्चालकद्वय थकालीले आफ्नो ‘होमस्टे’ एक आकर्षक र मौलिक गाउँ पर्यटनको गन्तव्य बनेको भनिरहँदा मार्टका सहभागी पाहुनाले त्यहाँका बारेमा अभिरुचिपूर्वक सुनिरहेका देखिन्थे ।
‘होमस्टे’को चर्चासँगै उहाँहरूले आफ्नो होमस्टेमा किन्न पाइने सिमी, जिम्बु, टिमुरको छोप आदिबारे पनि जानकारी गराएका थिए ।
मार्टमा सहभागी हुँदा आफ्नो स्थानको परिचय गराउनुुका साथै अन्य होमस्टेका सञ्चालकसँग पर्यटकीय साझेदारीका विषयमा पनि महत्वपूर्ण गफगाफ भएको सञ्चालक रुपना थकालीले बताउनुभयो । मार्टमा भएको सहभागिताले ‘होमस्टे’को राम्रै प्रचारप्रसार भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मनाङको नासो गाउँपालिका–४ स्थित ओढार घरवासबाट सहभागी पूर्णसुव्वा गुरुङले मार्टलाई आफूहरूले होमस्टेको प्रचारप्रसारकोे महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो ।
मार्टमा नै सहभागी बन्न आएको पर्वतको कुष्मा नगरपालिका–७ स्थित कुष्मा सामुदायिक होमस्टेका सञ्चालक राधिका अधिकारी पाध्याले मार्टमा बिक्रीमा ल्याइएको सबै समान क्षण भरमा नै बिक्री भएको अनुभव सुनाउनुभयो ।
‘होमस्टे’मार्फत छुर्पी, कुराउनी, जेठोबुढाको चामल, पुष्टकारी, घ्यु आदि तयार गरी बिक्री गर्ने गरेको जनाउँदै उहाँले ‘मार्ट’मा थोरै मात्रामा ल्याइएको भएपनि २५ हजार बराबरको समान बिक्री भएको जानकारी गराउनुभयो ।
होमस्टेको प्रचाप्रसारसँगै आँफूका उत्पादनको बजारीकरणमा सहयोग मिलेको ‘होमस्टे’का अर्का सञ्चालक सदस्य स्वेच्छा आचार्यको भनाइ छ । मार्टमा विभिन्न ‘होमस्टे’ले आँफैँले तयार गरी बिक्री गर्ने गरिएका स्थानीय उत्पादन बिक्री तथा प्रदर्शनी गरिएको थियो ।
तराईको जिल्ला नवलपुरको देबचुली नगरपालिका–१७ स्थित पिप्रहर सामूदायिक ‘होमस्टे’ ग्रामका व्यवस्थापक डोलबहादुर महतो गाउँ पर्यटनको बजारीकरणका साथै ‘होमस्टे’ बीचको पर्यटकीय साझेदारीका लागि मार्ट बहु उपयोगी बनेको बताउनुहुन्छ ।
जङ्गल सफारी, थारु संस्कृति आदि विषय पिप्रहर ‘होमस्टे’को विशेषता भएको बताउँदै उहाँले आँफूले उक्त ‘होमस्टे’का मा आएर जंगल सफारी गर्दा गैँडा नदेखिएमा पूरै पैसा फिर्ता गर्ने उद्घोषसहित बजारीकरण गरिरहेको बताउनुभयो ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये म्याग्दी बाहेक सबै जिल्लाबाट मार्टमा सहभागितामुलक सहभागिता भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।
“यस मार्टमार्फत समग्र गण्डकी प्रदेशको गाउँ पर्यटनको हामीले प्रवद्र्धन गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो, “यस मार्टले ‘होमस्टे’ सञ्चालकबीच व्यवसायिक साझेदारी अभिबृद्धिमा पनि विशेष योगदान पुगेको छ ।”
गण्डकी प्रदेशको पर्यटकीय विकासलाई प्रदेशका सबै जिल्ला र स्थानमा पुर्याउने बोर्डको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
मार्टर्कै अवसर पारेर सञ्चारकर्मी तथा व्यवसायी सहभागी गराएर बन्दीपुर र आसपासका पर्यटकीय गन्तव्यको परिचयात्मक भ्रमण (फार्म ट्रिप)समेत गराइएको बताउँदै उहाँले उक्त कार्यक्रमले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो ।
पर्यटन बोर्ड पर्यटनको विकेन्द्रीकरण गर्दै विभिन्न स्थानमा पुग्ने लक्ष्य अनुरुप बन्दीपुर आइपुगेको उहाँको भनाइ छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गाउँ पर्यटनले केवल आम्दानी बढाउने मात्र नभै हाम्रा परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षण र उपयोगमा जोड दिने बताउनुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीकका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटन केवल आम्दानी र रोजगारीसँग मात्र नभै स्थानीय उत्पादनमा पनि जोडिने धारणा राख्नुभयो । उत्पादनको बजारीकरण र उपयोगसँगै हाम्रा मौलिकताले भरिएका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने महत्वपूर्ण माध्यम होमस्टे बन्ने उहाँले बताउनुभयो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस मार्टले देशका विभिन्न स्थानका होमस्टे, स्थानीय उत्पादन, कला संस्कृति तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै गाउँ पर्यटनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
बन्दीपुर गाउँपालिका सदैव समुदायमा आधारित पर्यटन, सांस्कृतिक संरक्षण तथा वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राख्दै अघि बढीरहेको उल्लेख गर्दै उहाँले यसबाट स्थानीय जनसहभागिता, उद्यमशीलता तथा पर्यटनमैत्री वातवरण सिर्जना गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको शुुभारम्भ गर्नुहुँदै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले होमस्टेका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने जानकारी दिनुभयो ।
पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्र दुबैको संयुक्त प्रयास आवश्यक हुने बताउँदै उहाँले गाउँ पर्यटनका माध्यमबाट बढ्दो शहरीकरणलाई रोक्दै गाउँतर्फको आकर्षण बढाउन सकिने बताउनुभयो । होमस्टेका माध्यमबाट बाँझिदै गरेका भू–भागलाई उपयोग गर्ने वातावरण बनाउन सकिने उहाँले बताउनुभयो ।
गाउँ पर्यटनका माध्यमबाट स्थानीय मौलिकता जोगाउँदै स्थानीय उत्पादनको स्वाद पर्यटकलाई पुर्याएर आय आर्जन गर्न सकिने उहाँको भनाइ छ । सन् २०२५ मा बन्दीपुरमा ६ लाख २५ हजार पर्यटक भित्रिएका थिए । पाँचौ गाउँ पर्यटन मार्ट आगामी वर्ष गोरखामा आयोजना हुने भएको जनाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्