एन आर एन न्युज

एनआरएनए यूकेले विभिन्न गोर्खा संगठनसंग अन्तरक्रिया गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भूतपूर्व गोर्खा र उनीहरुका परिवारको चासोलाई विशेष ध्यान दिँदै विभिन्न गोर्खा संगठन आवद्ध ‘जी टेन’ समूहका प्रतिनिधि र सर्वसाधारणबीच अन्तरक्रिया गर्ने भएको छ ।

भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) बीच भइरहेका वार्ता प्रगतिउन्मुख नभइरहेको अवस्थामा यस अन्तरक्रिया हुन लागेको हो ।

यही २७ मे सोमबार बैंक होलिडेका दिन एम्पायर हल, अल्डरसटमा बिहान ११ः३० बजेदेखि कार्यक्रम हुने एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब वार्ता के हुन्छ ? यसले निकास दिन्छ वा दिंदैन ? नेपाल सरकारले बेलायतसंग कस्तो पहल गरिरहेको छ ? कूटनीतिक संवादमा कहां चुकेका छौं हामी ? वार्ता सफल नभए के छ गोर्खा संगठनहरुसंग भावी योजना ? आदिबारे गहन छलफल र सुझाव आदानप्रदानका लागि हामीले कार्यक्रम राखेका हौ ।”

गाहामगरले बेलायत सरकारसँग अबको वार्ता र जी टेन समूहको भावी योजना र नयाँ गतिविधिमाथि गोर्खाहरु उत्सुकताका साथ पर्खिरहेको अवस्थामा यस अन्तरक्रियाले ति कुरा उजागर गर्ने र गोर्खा मुद्दामा बेलायत र नेपाल सरकारहरूलाई विभिन्न सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा आमन्त्रित वक्ताहरुमा जी १० प्रवक्ता अवकासप्राप्त मेजर जुद्धबहादुर गुरुङ, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी अध्यक्ष टिकेन्द्र दल देवान जेपी, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई, गोर्खा अफर टु ट्रान्सफर (गट)अध्यक्ष उदय बहादुर गुरुङ एमबीइ रहनुभएको छ ।

यसै गरी गेसो सभापति कृष्ण कुमार राई, गेसो उपसभापति धर्म तामाङ, नेसा यूके अध्यक्ष केश बहादुर गुरुङ, अनसनकर्ताहरु पुष्प राना घले, धनबहादुर गुरुङ र ज्ञानराज राई रहनुहुनेछ ।

भूतपूर्व गोर्खाका मुद्दालाई उच्च चासो र प्राथमिकता दिंदैआएको एनआरएनए यूकेले सम्पूर्ण गोर्खा संगठनका सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.