एन आर एन न्युज

८७ देशका एनआरएन अध्यक्षलाई पर्यटन दूत नियुक्त गर्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय अध्यक्ष डा. बाद्री केसीे नेपालको पर्यटन प्रबद्र्धनका लागि विश्वका ८७ देशमा सक्रिय रहेको गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षलाई पर्यटन दूतमा नियुक्त गर्न माग गर्नुभएको छ ।

डा. केसीले सो कुरा यही बुधबार एनआरएनए र लुम्बिनी प्रदेशका चार नगरपालिकाबीच लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्ध्दन तथा विकासका लागि भएको समझदारी पत्रमा हस्ताक्षर समारोहमा सो कुरा बताउनुभएको हो ।

काठमाण्डौस्थित संघको सचिवालयमा आयोजित विशेष कार्यक्रमबीच संघ र लुम्बिनीका चार ऐतिहासिक नगरपालिकाहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा एनआरएनए र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीको समझदारी भएको हो ।

समझदारीपत्रमा संघका तर्फबाट अध्यक्ष डा बद्री केसी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका प्रमुख धनपत यादव, रामग्राम नगरपालिकाका प्रमुख सुदिप पौडेल तथा देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेलले हस्ताक्षर गर्नुभएको हो ।

विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थल विश्व सम्पदा सूचीमा सूचीकृत रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धले सिद्धार्थ गौतमको रुपमा यौवनकाल बिताएको (आफ्नो जीवनको झण्डै २९ वर्ष) व्यतित गरेको कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु नगरपालिका तिलौराकोट, बुद्धको मामाघर रुपन्देहीको देवदह नगरपालिका र नवलपरासीस्थित बुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिकाको पर्यटकीय प्रवद्र्धन र विकास यस समझदारीको मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले विश्व शान्तीका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल, शान्तिभूमि धार्मिक एवं पर्यटकीय क्षेत्र बुद्ध परिपथका चार नगरपालिका र गैरआवासीय नेपाली संघबीच संस्थागत रुपमा नै सम्बन्ध कायम भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन एनआरएनएले स्थानीय सरकारसँग मिलेर काम गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संसारको जुनसुकै कुनामा जाँदा पनि हामी बुद्धको जन्मेको देशका हौँ भन्दा जति गर्विलो महसुस हुन्छ भनेरमात्र अब पुग्दैन, वास्तवमै गर्व महसुस गर्न अब हामीले अन्तर्राष्ट्रियस्तरमा बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार गरी बढी भन्दा बढी पर्यटकलाई भित्र्याउन हाम्रो भूमिका अहम् हुनुपर्छ ।’

लुम्बिनीको विकासका लागि संसारभरका बौद्ध धर्मावलम्बीहरु एकजुट हुने उहाँको भनाई थियो । आफूहरुले केन्द्र सरकारसँग थुप्रै कामहरु गरेको अझै कतिपय काम पाइपलाइनमै रहेको भन्दै अध्यक्ष डा केसीले स्थानीय सरकारसँग मिलेर एनआरएनएले अझ धेरै काम गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

हरेक गैरआवासीय नेपाली पर्यटकीय सद्भावनादूत भएको भन्दै अध्यक्ष डा केसीले भन्नुभयो, ‘हाम्रा ८७ वटा राष्ट्रिय समन्वय परिषदछन्, म सरकारसँग आग्रह गर्छु ती ८७ वटै एनसीसीका अध्यक्षलाई सरकारले पर्यटकीय सद्भावनादूत बनाओस् ताकी नेपालको पर्यटन प्रवद्र्धनमा हर एक गैरआवासीय नेपाली सहभागी बन्न सकोस् ।’

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुव्र प्रसाद खरेलले लुम्बिनी प्रदेशमा ४ वटा ऐतिहासिक स्थानलाई विश्व बजारमा चिनाउन र हामीलाई जोड्न एनआरएनएले गरेको पहलको प्रशंसा गर्नुभयो ।

यस्तै कपिलवस्तु नगरपालिकामा प्रमुख सुदिप पौडेलले लुम्बिनी क्षेत्रको विकासका लागि एनआरएनएले सुरु गरेको नयाँ आयामले मूर्त रुप लिने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको भनाई सम्प्रेषण गर्दै प्रशासकीय प्रमुख कृष्ण सापकोटाले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि भएको समझदारीले समग्र लुम्बिनी प्रदेशको समग्र विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनए र ४ पालिकाबीचको सहकार्यले विश्वस्तरमा बौद्ध भूमिसहित पर्यटकीय क्षेत्रको प्रचार र अन्य प्रचुर सम्भावनालाई पनि उजागर गर्ने र चार पालिकामा रहेका पर्यटकीय एवम् धार्मिक स्थलको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र पालिकाको विकासका लागि असल अभ्यास, अनुभव अदानप्रदान र पर्यटन एवं संस्कृतिको प्रवर्द्धन, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण सरंक्षण र खेलकुद लगायतका क्षेत्रको विकासमा सहकार्य हुने उहाँको भनाई थियो ।

यस्तै, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले एनआरएनएसँगको सहकार्यले लुम्बिनी विकासको सपना पूरा गर्ने र पर्यटकीय प्रचारप्रसारमा सघाउ पुग्ने आशा राखेको बताउनुभयो।

नेपालको प्रचारप्रसारमा ८७ वटा देशका गैरआवासीय नेपालले पर्यटकीय दूत बनेर सहयोग गर्न उहाँले आह्वान गर्नुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव सरोज कुमार पोखरेलले गैरआवासीय नेपालीहरु नै विदेशमा नेपाल चिनाउने सच्चा दूत भएको भन्दै नेपालको पर्यटकीय विकास र प्रवद्र्धनका लागि सरकार सहकार्य गर्दै अघि बढीरहेको र अबका दिनमा पनि यसलाई थप व्यवस्थित रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटनको माध्यमबाट नेपालको विकास र समृद्धिमा सघाउ पुर्याउन गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विश्वका विभिन्न ३१ वटा शहरमा पर्यटन दूत नियक्त गरेको भन्दै आगामी दिनमा एनआरएन,
केन्द्र र स्थानीय सरकार मिलेर काम गर्न सके फलदायी हुने उहाँको भनाई थियो ।

यसअघि कार्यक्रममा संघका उपसचिव तथा पर्यटन प्रवद्र्धन कमिटीका संयोजक सोम सापकोटाले स्वागत मन्तव्य राख्दै बुद्ध परिपथको महान अभियान पूरा गर्न एनआरएनएले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

संघले स्थापनाकाल देखि नै नेपाललाई विश्वबजारमा चिनाउन आफ्नो स्थानबाट काम गर्दै आएको स्मरण गराउँदै उहाँले स्थानीय तहसँग संस्थागत रुपमै मिलेर काम गर्न समझदारी गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दिपक काफ्ले, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका रामप्रासाद ज्ञवाली, लेखा अघिकृत रामचन्द्र अर्याल, गैरआवासीय नेपाली संघका सल्लाहकार टीबी कार्की लगायतको उपस्थिति रहेको थियो ।

समझदारी अनुरुप अन्तर्राष्ट्रियस्तरमा शान्ति,सद्भावको प्रवद्र्धन गर्न, नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन एनआरएनए र स्थानीय सरकारहरू बीचको सहकार्यलाई सुदृढ बनाई बुद्ध धर्मको उद्गम भूमि लुम्बिनीले बोकेको परम्परागत संस्कृति र शान्तिको दर्शन अन्तर्राष्ट्रिय स्तरमा पुर्याई बलियो बनाउने संयुक्त प्रयासको रुपमा यस समझदारीलाई लिइएको छ ।

साथै, यसले बुद्ध धर्मको भावनामार्फत नेपाल र विश्वभर शान्ति र भाइचाराको सिद्धान्त सञ्चार, गर्न पनि मद्दत गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.