एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढे
अहिलेको व्यवस्थाले नियन्त्रण असम्भव- स्वास्थ्य सङ्कटकाल वा लकडाउनको योजना
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले कोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ । अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न सक्दैन” ।
उहाँले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गर्नुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताउनुभयो । उहाँले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंँग रु १४ अर्ब मंगलबार सुनिश्चित गरिएको जानकारी दिनुभयो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्