अर्थ

शुक्रबार नीति तथा कार्यक्रम- प्रि­बजेट छलफलमा कोरोना नियन्त्रणदेखि गाँजा खेतीका कुरा

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिने अपेक्षा गरिएको छ ।

त्यसैगरी अनावश्यक खर्च कटौती, विकास निर्माणका परियोजनाको निरन्तरता, रोजगारी सिर्जना, औद्योगिक एवम् कृषि उत्पादकत्व वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, सामाजिक सुरक्षाजस्ता राष्ट्रिय चासोका विषयलाई पनि नीति तथा कार्यक्रममा संलग्न गरिने बताइएको छ ।

संसदमा प्रि­बजेट छलफल चलिरहेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले आगामी बजेटमा कृषि विकास, कोरोना नियन्त्रण र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । छलफलमा भाग लिँदै उहाँहरुले कोरोनाका कारण विदेशबाट ठूलो जनशक्ति स्वदेश फर्किने सम्भावना रहेको भन्दै कृषिमा अनुदान र आधुनिकीकरणका लागि बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद विरोध खतिवडाले कारोनाको महामारी नियन्त्रणका साथै गाँजा खेती प्रवद्र्धनका कार्यक्रमसमेत आगामी बजेटमा समेट्न सुझाव दिनुभयो । सांसद लालबाबु पण्डितले कोरोना नियन्त्रण, रोजगारी सिर्जना, कृषि र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेमा बजेट केन्द्रित हुनुपर्छ भन्नुभयो । सांसद रामबहादुर विष्टले कृषि विकास, कोरोना नियन्त्रण र रोजगारीलाई केन्द्रमा राखेर समानुपातिक र समावेशी ढङ्गबाट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद खेम लोहनीले निजी क्षेत्रसँग सहकार्य, स्थानीय तहको परिचालनलगायत लोक कल्याणकारी राज्यको अवधारणासहित आएको बजेटको सिद्धान्त र प्राथमिकताले मात्र मुलुकको भविष्य उज्वल हुने धारणा व्यक्त गर्नुभयो । सांसद सुजाता परियारले बजेटले आवश्यक प्राथमिकता निर्धारण गर्न नसकेको जनाउँदै उद्यमशीलता बढाएर युवालाई विदेश जानबाट रोक्ने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

बैठकमा प्रेम सुवाल, पवित्रा निरौला (खरेल), सुजिता शाक्यलगायतले आगामी बजेट कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल सम्पन्न भएपछि भोलि अर्थमन्त्री डा युवराज खतिवडाले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३१ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.