जन सरोकार

उपत्यकाका विद्यालयलाई क्वारेन्टाइन बनाउने तयारी

शिक्षामन्त्री

शिक्षामन्त्री

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै सरकारले विद्यालय तथा क्याम्पसहरुलाई क्वारेन्टाइन बनाउने तयारी स्वरुप पहिलो चरणको तयारी थालेको समाचार छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौं उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउने बताउनुभएको हो ।

मन्त्री पोखरेलले उपत्यकामा कोरोना महामारीको जोखिम बढ्न सक्ने आँकलन गर्दै सो विषयमा तयारी भइरहेको र राजधानीलगायत देशैभरका शिक्षालयमा क्वारेन्टाइन राख्ने विषयमा पहिलो चरणको छलफल गरिसकेको बताउनुभएको छ ।

नेपाल समाचारपत्रका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेको र उनीहरु सबै काठमाडौं बाहिरबाट आएका हुनाले सरकारले बाहिरबाट उपत्यका भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने तयारीसहित शिक्षालयहरू प्रयोग गर्न खोजेको हो ।

हिसानका अध्यक्ष रमेश सिलवालले उपत्यकाका अधिकांश क्याम्पस, विद्यालय, मेडिकल, इन्जिनियरिङ कलेजलगायतका क्वारेन्टाइन राख्ने विषयमा निर्णय भइसकेको जानकारी दिनुभयो । हिसानले राजधानीको भित्री शहरमा भन्दा पनि अलि टाढा रहेका शिक्षालयलाई क्वारेन्टाइन बनाउन उचित हुने सुझाव दिएको छ ।

उहाँका अनुसार हिसान आबद्ध सबै पदाधिकारीका कलेजलाई क्वारेन्टाइन बनाउने विषयमा निर्णय भइसकेको छ । बूढानीलकण्ठ, फर्पिङको त्रिभुवन आदर्श, हात्तीवनको लिटिल एन्जेल्स, गोल्डेनगेट, ट्रिनिटी, जेभियर्स इन्टरनेसनल, नोवेल, लेवरोटरीलगायतका तीन दर्जनभन्दा बढी शिक्षालयलाई क्वारेन्टाइन बनाइनेछ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आवश्यकताको आधारमा सबै निजी विद्यालयलाई क्वारेन्टाइन बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले पहिलो प्राथमिकता सरकारी कलेज, होटल, गेस्ट हाउस, मेडिकल कलेजको गेस्ट हाउस, सरकारी विद्यालय पछि निजी विद्यालय प्रयोग गर्ने सरकारी नीतिअनुसार आफूहरू तयार रहेको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले एन–प्याब्सनअन्तर्गत देशैभरका ठूूला विद्यालयलाई सरकारले क्वारेन्टाइन बनाउन चाहे सोहीअनुसार व्यवस्थापन गर्न तयार रहेको बताउनुभएको छ ।

यसै गरी, त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै आंगिक क्याम्पसलाई पत्राचार गरी क्वारेन्टाइन राख्न दिन निर्देशन दिएको बताउनुभएको छ । उहाँका अनुसार हालसम्म करिब तीन दर्जन क्याम्पसमा क्वारेन्टाइन राखिएको छ । प्रदेश १, २, ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा रहेका क्याम्पस भवन अहिले क्वारेन्टाइनकै प्रयोजनमा लगाइएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.