संस्कृति तथा पुरातत्वविद् डा. अमात्यको कोरोना संक्रमणबाट निधन
देशले गुमायो एक होनहार ऐतिहासिक अन्वेषक
पुरातत्व विभागका पूर्व महानिर्देशक डा साफल्य अमात्यको कोरोना संक्रमणका कारण उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । अमात्यको बिहिबार काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको हो ।

मधुमेह र उच्च रक्तचापबाट पीडित अमात्य स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि काठमाडौंको वीर अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमै गरिएको पिसीआर परीक्षणमा उहाँमा कारोना संक्रमणको पुष्टि भएको थियो ।
भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राष्ट्रिय अभिलेखमा विद्यावारिधि गर्नुभएका अमात्यले २०४० को दशकको मध्यतिर ३ वर्षसम्म पुरातत्व विभागको महानिर्देशकको रुपमा काम गर्नुभएको थियो ।
संस्कृति र पुरातात्विक विषयमा विभिन्न पुस्तक र लेखरचनामा कलम चलाउँदै आउनुभएका स्व. अमात्य देशकै प्रतिष्ठित ऐतिहासिक अन्वेषकको रुपमा चिनिनुहुन्थ्यो ।
२०७२ सालको विनाशकारी भूकम्पपछि डा. अमात्य देशको पुरातात्विक महत्वका क्षेत्र र सम्पदाहरुको पुनःनिर्माणका लागि विभिन्न संचारमाध्यम तथा मञ्चहरुमार्फत सुझाव दिंदै आउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्