राजनीति

“उजुरी परेर दोषी ठहर भए, म आफैँ जेल जान तयार छु” : प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभामा सांसदहरुले प्रश्न गर्ने र प्रधानमन्त्रीले उत्तर दिने क्रम सुरु भएको छ । बिहिबारबाट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तर दिने र सांसदले प्रश्न सोध्नेक्रम प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले बैठकमा प्रश्नोत्तर कार्यक्रममा नियम निलम्बन गर्नुपर्ने अवस्था नमिठो लागे पनि सर्वसम्मत भएकामा खुसी लागेको बताउनुभयो ।

संसद्मा प्रश्न–उत्तर प्रारम्भ गर्न सहमति जुटाउनका लागि झण्डै दुई घण्टा समय लागेको थियो । अहिले प्रधानमन्त्री र सांसद प्रश्नोत्तरको चरण प्रारम्भ भइसकेको छ ।

प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई निष्र्कषमा पुर्याउन सरकारले प्राथमिकतामा राखेको र विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुरुप नै शान्ति प्रक्रियालाई पूर्णता दिने स्पष्ट पार्नुभयो ।

“शान्ति प्रक्रियाका बाँकी काम प्राथमिकताका साथ अघि बढाइनेछ, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अध्ययनका क्रममा छ”, उहाँले भन्नुभयो, “उक्त विषयमा बृहत् राजनीतिक सहमति जुटाउनका लागिसमेत मैले प्रयास गरिरहेको छु ।”

सांसद पूर्णबहादुर घर्ती मगरले प्रधानमन्त्री दाहालसमक्ष शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय कहिले निष्कर्ष पाउँछ रु भनेर प्रश्न गर्नुभएको थियो । उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले उक्त जवाफ दिनुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री दाहालले सरकारी विद्यालयमा गुणस्तरी शिक्षा प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ । उहाँले नेपालमा रहेका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकारले योजना रहेको र शिक्षकको क्षमता अभिवृद्धिका लागिसमेत विभिन्न कार्यक्रम सरकारले ल्याउने स्पष्ट पार्नुभयो ।

सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी शिक्षाको गुणस्तर वृद्धि गर्ने र युवालाई स्वदेशमै रोजगार दिने सरकारको योजना के छ भनेर प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा ह्रास आएर समग्र आर्थिक विकासमा समस्या भएको सबैलाई जानकारी भएको हुनाले रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सरकारी फजुल खर्च कटौती गरी राजस्व चुहावट कडाइका साथ नियन्त्रण गर्ने कामसमेत सरकारले गरिरहेको प्रष्ट पार्नुभयो ।

प्रधानन्त्री दाहालले नेपालको आर्थिक उन्नतिका लागि विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई सहयोग गर्ने सरकारको योजना रहेकोसमेत बताउनुभयो । सांसद पद्म गिरीले सरकारको आर्थिकस्तर माथि उठाउन सरकारको योजनाबारे प्रश्न गर्नुभएको थियो ।

सांसद शिशिर खनालको लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन अहिले तत्काल सार्वजनिक नगर्न सर्वोच्च अदालतले फैसला गरेको हुनाले अदालतबाट फुकुवा हुनेबित्तिकै उक्त प्रतिवेदन खुला हुने जानकारी दिनुभयो ।

उहाँले विषयवस्तुको गाम्भीर्यतालाई बुझेर विश्वका अन्य देशमा पनि केही समय सार्वजनिक नगर्ने गरेको यथार्थ पनि सदनलाई जानकारी गराउनुभयो ।

उहाँले पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकम दिएको आरोप मात्र भएको बताउनुभयो । “विस्तृत शान्ति सम्झौतामा नै लडाकुलाई क्यान्टोनमेन्ट राख्ने सहमति नै भएको थियो । त्यस विषयमा कसैले दिएको उजुरीमा मैले म दोषी ठहर भए, म आफैँ जेल जान तयार छु ।”

सांसद ज्ञानेन्द्र शाहीले आठ हजार चार सय ६० अयोग्य लडाकु कहाँ भएको र किन दुई/दुई लाख दिन लागेको भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो । प्रश्नको उत्तरमा प्रधानमन्त्री प्रचण्डले लडाकु शिविरमा घोटाला नभएको र यो राजनीतिक खपतका लागि मात्र उठाइएको बताउनुभयो ।

त्यस्तै उहाँले भ्रष्टाचार निवारणका लागि सरकार तत्पर रहेको र आवश्यक परेमा २०४८ सालयताका उच्च पदस्थ र राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न तयार रहेको र यसका लागि सबै दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.