जल/वातावरण

मुसलधारे वर्षाको सम्भावना- दुई दिन उच्च शतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने भन्दै शतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने, केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । वागमती प्रदेशमा भोलि बिहिबार भारी वर्षाको सम्भावना छ ।

त्यसो त अरब सागरमा बनेको ताउ ते चक्रवात अहिले कमजोर भइसकेको छ । यो अहिले चक्रवातको रुपमा छैन । मौसमविदहरुले यस्तो अवस्थालाई ‘डिप्रेसन’ भन्छन् । यो अहिले केही शक्तिशाली न्यूनचापीय क्षेत्रको रुपमा छ र यो उत्तर–उत्तर पूर्व सर्ने क्रममा छ । उत्तर–उत्तर पूर्व सर्ने क्रममा नेपालको पश्चिमी क्षेत्र नजिक पर्ने भएकाले पूर्वी नेपालको तुलनामा पश्चिम नेपालका जिल्लाहरुमा बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।

चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा बुधबारको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म आरोहण नगर्न आग्रहसहित यसअघि नै विशेष बुलेटिन जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button