पोखरीको डिलमा १० लाख १० हजार रुपैयाँ छाडेर किन भागे उनीहरु
बिहिबार विहान रौतहटको ईशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा दुईजनाले १० लाख १० हजार रुपैयाँ छाडेर भागेका छन् । भारतसंग सीमा जोडिएको स्थानमा प्रहरी देखेपछि भागेका उनीहरुले सो रकम हुण्डी कारोबारका लागि ल्याइएको आशंका गरिएको छ ।
ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा दुई जना व्यक्तिहरु प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको बताउनुभएको छ ।
ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजेको थियो । तर उनीहरु रोकिएनन्, फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।
प्रहरीले पछयाउन थालेपछि डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए । बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ ।
त्यहाँबाट बरामद रकम औरैयाका प्रहरी सहायक निरीक्षक ललित कुमार साहले नगर प्रमुखको घरमा लगेर रोहबरमा गन्न लगाएका थियो । रकम गन्दा १० लाख १० हजार रुपैयाँ रहेको पाइएको मेयर मेहताले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्