कोरोनाको उपहार : बाँझिएको जग्गामा गाउँ फर्किएका युवाले गरे सामूहिक खेती
– सन्तोष गौतम
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)का कारण गाउँमा फर्किएका युवाले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती शुरु गरेका छन् ।
म्याग्दीको मालिका गाउपालिका–६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले युवालाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो । ६० रोपनी जग्गामा सिमी लगाइसकेका छन् । थप १६० रोपनीमा भटमास र गहत खेती गर्नका लागि युवा खनजोतमा जुटेका छन् ।
वैदेशिक रोजगारी र बसाइसराइँका कारण जनशक्ति अभाव हुँदा खेतीयोग्य बारी बाँझिएको थियो । लकडाउनमा युवाहरुलाई परिचालन गरेर खेती गरिएको स्थानीयवासी सर्गप्रसाद रोकाले बताउनुभयो । “१६ जना जग्गाधनीले १० वर्षका लागि खेती गर्न भाडा नलिने गरी जग्गा दिएका छन्,” उहाँले भन्नुभयो, “मान्छेभन्दा अग्लो, स्याल लुक्ने झाडी फाडेर खनजोत गरी गहत, सिमी र भटमास लगाएका छौं ।”
बाँझो जमिनमा बनमारा, ऐसेलु र पातिले भरिएको थियो । झाडी फाड्न सहकारीले रु एक लाख २२ हजार ज्याला दिएर १४८ जना बराबरको काम लगाएको थियो । छ हल गोरुलाई हलीसहित दैनिक रु एक हजार २०० दिएर छ दिन लगाएर बाँझो जोतिएको छ । झाडी फाड्ने र खनजोतको काममा बेनी, पोखरा, काठमाडौँबाट आएका युवा संलग्न छन् ।
बन्दाबन्दीपछि बेनीमा कलेज पढ्दै आएका भुवन रोकाले छ दिनसम्म बाँझो जोत्ने काम गरेको बताउनुभयो । बच्चा हुँदादेखि नै बाँझो बनेको बारीलाई खनजोत गरेर हराभरा बनाउन लागिएकामा दिपेश शेरपुजाले खुशी व्यक्त गर्नुभयो । दुखुमा ९८ घर छन् । आधाजसो बसाइसराइँ गरेर बेनी, दरवाङ, पोखरा र काठमाडौँ गएका छन् । उनीहरुले खेती गर्न छाडेपछि बाँझिएको जमिन सहकारीलाई उपलब्ध गराएका हुन् ।
उत्पादन बढाउने, आयात घटाउने, गाउँमा रोजागारी र आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले सामूहिक खेती शुरु गरेको वडा सदस्यसमेत रहनुभएका स्थानीयवासी पथबहादुर रोकाले बताउनुभयो । कुनै समय बेनी, बागलुङ र पोखराको बजारमा दुखुको सिमी, गहत र भटमास चर्चित थियो । पहिले स्थानीय भारी बोकेर बेच्नलाई बजारमा पुग्थे । अहिले गाउँमै सडक पुगेको छ । बजारको समस्या छैन ।
उत्पादन गरेको कृषि उपज सहकारी संस्थाले खरिद गरेर बजारीकरणको व्यवस्था मिलाउने सहकारीका लेखापाल श्याम रोकाले बताउनुभयो । कृषि उपज बजारीकरण गर्न दरवाङमा कोसेलीघर स्थापना गरेको उहाँले बताउनुभयो । मालिका गाउँपालिकाले सातवटै वडामा सम्भावनाको आधारमा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । हावापानी र भूगोलअनुसार फलफूल, तरकारी, दलहन, पशुपालन र जडीबुटी खेतीका लागि पकेट क्षेत्र बनाएको वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।
दुखुमा दलहन र टिमुरखेतीका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु छ लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । “दिच्याममा किबीखेती शुरु गरिएको छ”, उहाँले भन्नुभयो “ढाँडखर्कमा गोलभेँडा, तोलाबाङमा आलु र तरकारीको पकेट क्षेत्र बनाइएको छ ।”
प्रतिक्रिया राख्नुहोस्